काठमाण्डौं ।
यस वर्षको प्रेस चौतारी बागमती पत्रकारिता पुरस्कार दोलखाकी विनिता शिवाकोटी र मकवानपुरकी सरिता दाहाललाई प्रदान गरिने भएको छ । उनीहरु दुवै प्रेस चौतारी समर्थित सक्रिय पत्रकार हुन् । आज काठमाण्डौंको कमलादीमा प्रेस चौतारी बागमती प्रदेश समितिको कार्यालय उद्घाटनका अवसरमा पुरस्कार घोषणा गरिएको हो ।

प्रेस चौतारी बागमती प्रदेश समितिको कार्यालय उद्घाटन गर्दै चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले पत्रकार महासंघको शुद्दीकरणका नाममा चौतारी समर्थित पत्रकारलाई छानी छानी निकाल्ने षड्यन्त्र भइरहेको बताउनुभयो । चौतारीलाई पाखा लगाउन अनेक प्रपञ्च गरिएको कुरा बाहिर आइसकेकाले अब चौतारी आन्दोलनमा जाने तयारी गरिरहेको अध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।
कार्यक्रममा यस वर्ष बागमती प्रदेशका १० जिल्लाहरु मध्ये कार्यक्रमका हिसाबले उत्कृष्ट जिल्लाका रुपमा रामेछाप जिल्ला शाखालाई घोषणा गरिएको छ ।

प्रेस चौतारी बागमती प्रदेशका अध्यक्ष शरद सापकोटाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बागमती प्रदेश कमिटीले प्रकाशन गरेको सम्पर्क डायरी समेत सार्वजनिक गरिएको थियो । चौतारीका केन्द्रीय पदाधिकारी, प्रदेश पदाधिकारी, विभिन्न जिल्ला अध्यक्षहरु र पदाधिकारी सहितको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको हो ।

कमलादीमा सम्पन्न गरिएको कार्यालय उद्घाटनसँगै अब प्रदेशका गतिविधिहरु नियमित रुपमा यहीँबाट सञ्चालन गरिने र अझै रचनात्मक कार्यक्रमहरु ल्याइने अध्यक्ष सापकोटाले जानकारी दिनुभयो । । कार्यक्रममा बागमती प्रदेशले स्थापना गरेका पत्रकार कल्याणकारी अक्षयकोष र पुरस्कार कोषको बारेमा पनि जानकारी गराइएको थियो ।




