काठमाडौं । आज तीनवटा प्रदेशका केही स्थानमा भारी वर्षा हुने प्रक्षेपण जल तथा मौसम विज्ञान विभागले गरेको छ ।
विभागका अनुसार कर्णाली, लुम्बिनी र सुदूरपश्चिमका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित मुसलधारे वर्षा हुने सम्भावना छ । यस्तै, वागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
वर्षा हुने क्षेत्रका नदीनालामा जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षयजस्ता प्रकोप हुन सक्ने भएकोले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तर तथा पूर्वमा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । साथै, बंगालको खाडीको उत्तर-पश्चिम भागमा विकसित न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव परेको छ ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । वागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कर्णाली, लुम्बिनी र सुदूरपश्चिमका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ ।
आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । सुदूरपश्चिमलगायत बाँकी प्रदेशका पहाडी भेगका थोरै र बाँकी भूभागका १-२ स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।




