काठमाण्डौं
नेकपा एमाले बागमती प्रदेश कमिटीको प्रथम अधिवेशन पार्टीको राष्ट्रिय महाधिवेशन जस्तै बनाइने भएको छ । बागमती प्रदेशको अधिवेशनलाई मिनी महाधिवेशनको झल्को दिइने कमिटीका अध्यक्ष केशव पाण्डेले जानकारी दिनुभयो । आज पार्टी कार्यालय च्यासलमा बसेको जनसंगठन समन्वय संयन्त्रको बैठकमा अध्यक्ष पाण्डेले यस्तो बताउनुभएको हो ।

बैठकमा पार्टीको केन्द्रीय जनसम्पर्क समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले प्रदेशका यी अधिवेशनहरुबाट पार्टी कामको नयाँ ढंगबाट थालनी हुने बताउनुभयो । अहिले पार्टीमा पद लिने तर काम नगर्ने प्रवृत्ति बढेकाले यसलाई निरुत्साहित गर्न पार्टीको रिफर्मेसन गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।
अधिवेशनको उद्घाटन रोबोर्टको माध्यमबाट गरिने र मतदान प्रक्रियामा इलेक्ट्रोनिक मतदान यन्त्रको प्रयोग गरिने सचिव विजय सुवेदीले जानकारी दिनुभयो । यस प्रथम अधिवेशनमा पार्टीको प्रचार प्रणाली अत्याधुनिक बनाइने र काठमाण्डौँमा हुने उद्घाटन समारोहमा मानवसागर उपस्थित गराइने प्रचार विभाग प्रमुख महेश बर्तौलाले बताउनुभयो ।

बैठकमा प्राकृतिक, सांस्कृतिक, धार्मिक र भौगोलिक हिसाबले विविधता भएको यस प्रदेशमा नयाँ र आकर्षक किसिमले अधिवेशन सम्पन्न गर्न रचनात्मक क्रियाकलापहरु गरिने जनवर्गीय संगठनहरुले प्रतिबद्धता जनाएका छन् ।




