अर्घाखाँची । तीन पटकसम्म शिक्षकको विज्ञापन खुलाउँदा पनि कोही दरखास्त दिन नआउँदा विद्यालयहरु संकटका परेका छन् । पढेलेखेका युवा नै विद्यार्थी भिसामा विदेशमै बस्न थालेपछि अर्घाखाँचीका गाउँका स्कुलमा गणित र विज्ञान विषयका शिक्षक अभाव भएका छन् । ती विषय पढेका पनि गाउँमा पढाउनका लागि जागिरमै नगएपछि समस्या भएको छ ।
अर्घाखाँचीमा गणित र विज्ञानका शिक्षक अभाव
पाणिनि गाउँपालिका–७ स्थित जनसेवा माध्यमिक विद्यालयले मावि तहको विज्ञान विषयको शिक्षक आवश्यकता सम्बन्धी विज्ञापन लगातार पाँच पटक गर्दा बल्ल दुई जनाले दरखास्त हालेका छन् । सुरुमा साउन १८ गते शिक्षक स्थायी अनुमतिपत्रसहितको १५ दिने विज्ञापन गर्यो । कसैको आवेदन परेन । दोस्रो पटक लाइसन्सविना माग गर्दा पनि निवेदन परेन ।
त्यसपछिका लगातारका विज्ञापनमा पनि आवेदन नपरेपछि अन्तिम पटक जताजतै आफैं खोजेर सल्यानका प्रकाश घर्ती र कपिलवस्तुका विपिन मिश्रको आवेदन परेको थियो । मिश्रले नआउने जानकारी गराएपछि घर्तीको मात्रै परीक्षा भयो ।
यहाँ कार्यरत शिक्षक हरि भुसाल खिदिम घर पायकमा सरुवा भएर गएपछि दरबन्दी खाली भएको हो । ‘पाँच पटकसम्म विज्ञापन खुलाउँदा समेत शिक्षक पाउन कठिन भयो,’ विद्यालयका प्रअ शालिकराम बेल्वासेले भने, ‘जताजतै हारगुहार गरेर बल्ल एक जना सल्यानबाट घर्ती आउनु भयो ।’
यही स्कुल र गाउँका अन्य स्कुलमा पढेका विद्यार्थीले पनि विज्ञान विषय पढेका छन् । धेरै विदेश र सहर केन्द्रित छन् । मावि शिक्षकको तलब सुविधा थोरै भएको र गाउँमा अन्य अवसर नहुने भन्दै आउन नमानेको उनले बताए ।
मालरानी गाउँपालिका-१ वीरेन्द्र माविमा गणित विषयको शिक्षक नहुँदा चार महिनादेखि पढाइ प्रभावित भएका छन् । तीन पटकसम्म गणितको मावि शिक्षकको विज्ञापन खुलाउँदा पनि कोही दरखास्त दिन नआएकाले पढाइमा समस्या परेको प्रअ जीतबहादुर केसीले बताए । ‘मावि शिक्षक हारगुहार गर्दा पाएनौं,’ उनले भने, ‘माविक शिक्षक नभएपछि प्राविधिक धारका असिन मरहठ्ठाले गणित पढाउनुभएको छ । गणित पढेकाहरु गाउँमा पढाउन आउन कोही मानेनन् ।’
जताजतै हारगुहार गर्दा पनि कतै नपाएपछि चुप लागेर बसेको उनले बताए । उनी इलेक्ट्रोनिक इन्जिनयिर हुन । गणितमा स्नातक र स्नाकोत्तर पढेका जति अधिकांश विदेश गएको र भएका केही ठूला सहर केन्द्रित बसेकाले समस्या भएको केसीले बताए ।
६ स्थानीय तहमा ८९ माध्यमिक विद्यालय छन् । सबैमा गणित र विज्ञान विषयका शिक्षक छैनन् । शीतगंगा नगरपालिका-१४ को पाकुरी माविमा गणित र विज्ञान विषयको शिक्षक अभाव छ । तीन पटक विज्ञापन गर्दा पनि कोही दरखास्त दिन आएनन् । यसै नगरको वडा ७ लामातालस्थित विष्णुपथ चौपारी आधारभूत विद्यालयमा पनि तीन पटक गणित र विज्ञान विषयको शिक्षक मागको विज्ञापन गर्दा कोही आएनन् ।
यस्तै समस्या थुप्रै विद्यालयमा छ । ‘पढाइरहेको गणित र विज्ञान विषयका शिक्षक अवकाश भए, सरुवा भए र राजीनामा दिएमा नयाँ शिक्षक पाउन निकै कठिन छ,’ जिल्ला शिक्षा तथा समन्वय इकाइ प्रमुख मनिराम पराजुलीले भने, ‘कहाँ अभाव छ, अवस्था कस्तो छ भनेर पालिकाबाट लगत संकलन गरिरहेका छौं । पढेलेखेका मान्छे पनि जिल्ला र स्वदेशमा नबस्दा यस्तो समस्या आएको हो ।’
धेरैजसो एसईई पछि रोजगारीको लागि वैदेशिक रोजगारमा जान्छन् । कक्षा १२ पढेपछि अष्ट्रेलिया, जापान लगायतका देशमा विद्यार्थी भिसामा जाने र पढेपछि उतै रोजगारी गर्ने गर्दा जनशक्ति नै अभाव भएको पूर्वजिल्ला शिक्षा अधिकारी लीलबहादुर राउत क्षेत्रीले बताए ।
‘अष्ट्रेलिया, जापान, क्यानडा लगायतका देशले नेपालबाट विद्यार्थी तानेर लैजान्छन्,’ उनले भने, ‘नेपाली युवा लगेर ती देशले आफ्नो आर्थिक समृद्धि गरेका छन् । नेपाल युवाविहीन बन्दैछ ।’




