काठमाडौँ । विद्युतीय चुरोट (भेप)मा लुकाएर ल्याएको करिब ९ केजी सुन तस्करी अभियोगमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा पुर्पक्षका लागि कारागार चलान भएका छन् । राहुल सुन्धारास्थित केन्द्रीय कारागार चलान भएको केन्द्रीय कारागारका जेलर ललितकुमार बस्नेतले बताए ।
शुक्रबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश दण्डपाणि शर्माको इजलासले राहुललाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो । अर्का प्रतिवादी लोकेन्द्र पौडेललाई ५ लाख धरौटीमा छाड्न आदेश भएको अदालतका सूचना अधिकारी दीपक दाहालले बताए ।
थुनछेक बहसपछि शुक्रबार न्यायाधीश डण्डपाणि शर्माको इजलासले मुद्दाको किनारा नलागेसम्म राहुललाई थुनामा पठाउन आदेश दिएको हो । २०७९ पुस १० मा दुबईबाट भेपमा लुकाएर चिनियाँ तस्करले ल्याएको सुन प्रकरणमा राहुल पक्राउ परेका थिए ।
तस्करले भेपमा लुकाएर ल्याएको सुन विमानस्थल भन्सार कार्यालयले नियन्त्रणमा लिएपछि राहुलसहितको समूहले छुटाउन दबाब दिएको थियो । पूर्वसभामुख महराले पनि सुन छुटाउन भन्सारका कर्मचारीलाई फोन गरेर दबाब दिएका थिए । त्यही सुनपछि भन्सारबाट चोरी भएको थियो । चोरीको मुद्दा गत असारमै अदालतमा दायर भएको थियो । त्यसपछि संगठित अपराधमा अनुसन्धान अघि बढेको हो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले बुधबार राहुलसहित चिनियाँ सुन तस्कर दावाजिन वाङका सहयोगी लोकेन्द्र पौडेल, तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङ र हाल फरार रहेका निमा गुरुङविरुद्ध ९ केजी ११.५२४ ग्राम सुनबापत हुन आउने ८ करोड ५५ लाख २८ हजार ३ सय ७४ रुपैयाँलाई बिगो कायम गरी मुलुकी अपराध संहिता–२०७४, संगठित अपराध निवारण ऐन २०७० र भन्सार ऐन २०६४ ले बर्जित गरेको अपराध अभियोगमा मुद्दा दायर गरेको थियो ।
प्रतिवादीमध्येका दावा छिरिङ साउन २ मा ब्रेक सुभित्र लुकाएर ल्याएको करिब ६१ केजी सुन प्रकरणका पनि अभियुक्त हुन् । ब्रेक सुको सुन प्रकरणमा उनी अदालतको आदेशपछि हाल कारागारमै छन् । भेपमा लुकाएर ल्याएको सुन तस्करीमा पनि मुछिएपछि उनलाई समेत प्रतिवादी बनाएर सरकारी वकिल कार्यालयले बुधबार मुद्दा दायर गरेको थियो ।
त्यही मुद्दाको थुनछेक बहसपछि जिल्ला अदालत काठमाडौंले राहुललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । भेपमा लुकाएर सुन ल्याउने चिनियाँ गिरोहका ६ जना दावाजिन वाङ, आसिन पेङ, ली फेङ पेङ, झाङजिन च्वाँ, ली हसङ र फेङ चेङ लिन हाल फरार रहेका कारण उनीहरुको हकमा पक्राउ परेर अनुसन्धानले खुलेबमोजिम हुने गरी सरकारी वकिल कार्यालयले भेप प्रकरणमा चारजनालाई मात्रै प्रतिवादी बनाएको थियो ।




