काठमाडौँ । प्रतिनिधिसभामा सामुदायिक विद्यालयमा कार्यरत बाल विकास (ईसीडी) शिक्षक, राहत र अस्थायी शिक्षकका समस्याबारे आवाज उठेको छ। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा एमालेका भीम आचार्यले ती शिक्षकका समस्याबारे आवाज उठाएका हुन् ।
उनले भने, ‘बाल विकास शिक्षक, राहत र अस्थायी शिक्षकहरूका समस्यामा सरकार बेखबर छ । उनीहरूले आन्दोलन गरिरहेका छन् ।’ उनले स्थानीय तहका कर्मचारीका समस्यामा पनि सरकार बेखबर रहेको आरोप लगाए । विभिन्न माग अघि सारेर स्थानीय तहका कर्मचारी आन्दोलित छन् । यसबाट विगत १२ दिनदेखि स्थानीय तहको काममा अवरोध भएको छ ।
यसैगरी सांसद आचार्यले वीर अस्पतालबाट अन्यायपूर्ण ढंगले डाक्टरहरूलाई निष्कासन गरिएको आरोप लगाए। उनले भने, ‘स्वास्थ्यकर्मीमाथि आक्रमण भएको छ । सरकार बेखबर छ ।’
गुण्डागर्दी गर्ने र ज्यान मार्ने मान्छेहरूलाई भने राज्यले उन्मुक्ति दिइरहेको उनको आरोप छ । यसैगरी उनले धरानबाट सुरु भएको डेंगु संक्रमण राजधानीमा तीव्र रूपमा फैलिँदा पनि सरकार बेखबर देखिएको बताए । सांसद आचार्यले चाडबाडका बेला कालोबजारी असाध्यै चर्को हुँदा पनि सरकार रहेको अनुभूति नरहेको बताए ।







