शिशिर सिंखडा । महिला सशक्तिकरणको आवाजलाई बिश्वभर बुलन्द पार्दै आएकी क्यानडा निवासी चर्चित लोक दोहोरी गायिका देविका के.सी. (देवकी खत्री गुरुङ) ले गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए) को आगामी कार्यकाल (२०२३–०२५) का लागि महिला संयोजक पदमा उम्मेदवारी दर्ता गरेकी छिन् ।

आउँदो अक्टोबर १७ तारिख अर्थात असोज ३० गते देखि कार्तिक ३ गतेसम्म काठमाडौंमा हुन गईरहेको संघको ११ औं महाधिवेशनमा क्यानडाबाट प्रतिनिधित्व गर्दै गायिका केसीले दुई वर्षे कार्यकालका लागि उम्मेदवारी दर्ता गरेकी हुन । एनआरएनए भित्र महिला सशक्तिकरणको आवाज अझै बुलन्द पार्न ‘महिला सशक्तिकरण, सबैलाई जोड्ने एनआरएनए’, र ‘नारी शसक्तिकरण हाम्रो अभियान, भाषा कला संस्कृती हाम्रो पहिचान’ भन्ने नारा सहित महिला संयोजक पदमा उम्मेद्वारी घोषणा गरेको बताएकी हुन् |
एनआरएनए एनसिसी कतारको उपाध्यक्ष (२०१५/१७) र आईसीसी सदस्य (२०१७/१९) समेत भैसकेकी केसीले हाल क्यानडालाई कर्मथलो बनाएकी छन ।
चर्चित लोक दोहोरी गायिका केसीले प्रवासमा रहेर लोक गीतसंगीतको माध्यमबाट नेपाली कला संस्कृतिको प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्याएकी छिन् । गायन पेशामा सक्रिय केसीले सामाजिक सेवाका कार्यहरु पनि गर्दै आएकी छिन् ।
एनआरएनएले संचालन गरेका विभिन्न परियोजनाहरुमा सक्रिय सहभागी भएर काम गर्दै आएकी केसीले नेपाली समुदायले गर्ने हरेक कार्यमा हातेमालो गर्दै नेपालमा दुःख परेका कलाकर्मीहरुलाई सहयोग जुटाउने, महिला, बालबालिका, असक्त बिरामीहरुलाई पनि सक्दो सहयोग गर्दै आएकी छिन् । १ दर्जन भन्दा बढी गितको एल्बम निकालेकी गायिका केसीले दर्जनौ गीतहरु गाएकी छन भने स्वदेश तथा बिदेशका सयौं कार्यक्रमहरुमा आफ्नो गायन कला प्रस्तुत गरिसकेकि छन ।
‘विदेशमा रहेता पनि म नेपाली महिला दिदीबहिनीहरुका सुख दुःखसँग परिचित छु । लामो समयदेखि विदेशमा रहेका नेपाली महिला दिदीबहिनीहरुका सुख दुःख को साक्षी र एनआरएन अभियानलाई नजिकबाट बुझेको हुँदा एनआरएन अभियानलाई साथमा लिदै महिला संयोजक पदमा उम्मेदवारी घोषणा गरेकी छु उनले भनिन |
महिला संयोजक पदकी उम्मेदवार केसी लोकप्रिय लोक तथा दोहोरी गायिकाको साथ साथै कुशल कार्यक्रम प्रस्तोता र संचालकको रुपमा पनि नेपाली समुदायमा परिचित रहेकी छिन् ।




