काठमाडौँ । अफ्रिकी मुलुक बुर्किना फासोको एउटा गाउँमा नचिनेका मानिसहरूको समूहको आक्रमणमा कम्तीमा ७० जना गाउँले मारिएका छन् । मारिनेमा अधिकांश ज्येष्ठ नागरिक र बालबालिका रहेको बताइएको छ ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार आक्रमण नोभेम्बर ५ मा भए पनि अहिले मात्र घटना बाहिर आएको हो । बुर्किना फासोको जाओंगो गाउँमा आक्रमणकारी समूहले गाउँलेको हत्या गर्नुका साथै उनीहरूको सम्पत्ति पनि लुटेको छ । नोभेम्बर ११ मा घटनाको जाँचका लागि एउटा न्यायिक टिम गाउँमा पठाइएको थियो ।
उक्त टिमले कम्तीमा ७० जनाको मृत्यु भएको जानकारी दिएको हो । युरोपेली युनियनले बइतबार जाओंगो गाउँमा करिब १०० जनाको हत्या भएको भन्दै निष्पक्ष अनुसन्धान गर्न आग्रह गरेको थियो ।
पश्चिमी अफ्रिकामा अवस्थित बुर्किना फासो भुपरिवेष्ठित मुलुक हो । माली, निजेर, बेनिन, टोगो, घाना र आइभोरी कोस्टसँग सीमा जोडिएको यस मुलुकको जनसंख्या करिब २ करोड २० लाखभन्दा बढी रहेको छ ।
सन् २०१६ यता बुर्किना फासोमा रक्तपातपूर्ण हिंसा हुँदै आएको छ । अल कायदा र इस्लामिक स्टेटसम्बद्ध स्थानीय हतियारधारी समूहले सरकारविरुद्ध सशस्त्र द्वन्द्व चर्काउँदै आएको छ ।




