काठमान्डौ। १७ कात्तिक मध्यरातिको भूकम्पले विद्यालयका भवन पूरै ढलेका त छैनन् । तर, सद्दे पनि छैनन् । विद्यालयका चारवटै भवनका ठाउँठाउँमा चर्किएको छ ।६.४ म्याग्निच्युडको भूकम्पपछि तारन्तार परकम्प गइरहेका वेला रुकुम पश्चिमको सानीभेरी गाउँपालिका– १ चाइनाबगरमा रहेको भेरी दोभान माविले सोमबार पाल टाँगेर कक्षा चलायो । २८ असोज अर्थात् घटनास्थापनादेखि बन्द रहेका विद्यालयको नियमित पठनपाठनका लागि सोमबारदेखि विद्यालय त खुले । तर, न चर्किएका कक्षा कोठामा पढाउन सक्ने स्थिति छ न त बिदा नै दिने । कक्षा १० सम्म तीन सय पाँच विद्यार्थी रहेको भेरी दोभानमा सोमबार ३४ मात्र उपस्थित भए । ‘धेरैजसो विद्यार्थी कक्षा ५ भन्दा तलका थिए, सबै विद्यार्थीलाई एउटै पालमुनि राखेर हाजिर गर्यौँ । काउन्सिलिङ गरेर घर पठाइदिऔँ,’ प्रधानाध्यापक पूर्णबहादुर ओलीले भने, ‘विद्यार्थी भूकम्पको त्रासमा छन् । हाम्रा एक विद्यार्थी त भूकम्पमा परी घाइते भएका छन् ।’ दिउँसो १ बजे विद्यार्थीलाई घर पठाइएको थियो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार १७ कात्तिकको जाजरकोट भूकम्पका झन्डै पाँच सय परकम्प गइसकेका छन् ।प्रअ ओलीका अनुसार नियमित पठनपाठन नभए वार्षिक परीक्षालाई असर गर्ने भएकाले अब सातवटा पाल टाँगेर बहुकक्षा चलाउनेगरी सिकाइ केन्द्र स्थापना गरिनेछ । ‘कक्षा ३ सम्मका विद्यार्थीलाई एउटै ठाउँमा त्यसमाथिका लागि पनि बहुकक्षा रहनेगरी राखेर पठनपाठन अगाडि बढाउने योजना छ, अर्काे हप्ताभित्र नियमित कक्षा चल्छ होला,’ उनले सुनाए, ‘कार्यालय पनि भवनभित्र चलाउन सक्ने स्थिति छैन । सोमबार बाहिरै बस्यौँ । अब छुट्टै पाल टाँगेर बनाउनुपर्नेछ ।’
आठबीसकोट नगरपालिका–१४ मा रहेको जनविकास माविले पनि विद्यार्थीलाई परामर्श दिएर घर पठाएको छ । ‘कक्षा कोठामा राखेर पढाउन सकिने अवस्था छैन, विद्यार्थीलाई खुला चउरमै राखेर परामर्श दिएका छौँ,’ प्रधानाध्यापक दीपकसंगम थापाले भने, ‘धेरै विद्यार्थी आएनन् । त्रासको वातावरण छ ।’ जनविकासमा तीन सय १५ विद्यार्थी रहेकामा सोमबार ६० मात्र उपस्थित भए । आधा महिना अघिको भूकम्पमा परी जनविकासका तीन विद्यार्थीले ज्यान गुमाए । ‘अधिकांश विद्यार्थीका घर भत्किएका छन् । आफन्त गुमाएका छन्,’ थापाले भने, ‘तत्काल पठनपाठन सुरु गर्ने अवस्था छैन । अब सामान्य अवस्थामा फर्किनुपर्छ । बितेको घटनालाई बिर्सनुपर्छ भनेर सम्झाएका छौँ । मनोरञ्जनका लागि खेलकुद खेलाएर घर पठायौँ ।’
थापाका अनुसार अस्थायी कक्षा चलाउन बाँस र सल्लाबाट सातवटा टहरा निर्माण गरिएको छ । तर, पालको व्यवस्थापन नहुँदा त्यहाँ कक्षा चलाउन नसकिएको उनले बताए । ‘श्रमदानबाट टहरा बनाइएको हो । युनिसेफले पालको व्यवस्था गर्ने भनिएको छ,’ प्रअ थापाले भने, ‘त्यसपछि कक्षा चलाउछौँ ।’
जाजरकोटको भेरी नगरपालिका–१ रिम्नामा रहेको भेरीत्रिवेणी माविमा पनि सोमबार पर्याप्त विद्यार्थी आएनन् । भेरीमा अध्ययनरत तीन विद्यार्थीले भूकम्पमा ज्यान गुमाएका थिए । ‘अधिकांश विद्यार्थीका घर भत्किएका छन् । त्रिपालमा बसिरहका छन्,’प्रधानाध्यापक प्रेमबहादुर पुन बताउँछन्, ‘त्यही भएर सोमबारको पहिलो कक्षामा निकै कम विद्यार्थी आए ।’ यो विद्यालयमा चार सय ६५ विद्यार्थी रहेकामा सोमबार झन्डै सय जना उपस्थित भएका थिए । तर, उनीहरूले पढ्न भने पाएनन् । चउरमा हाजिर गरियो । ‘कुनै पनि कक्षा कोठा बस्न लायक छैनन्,’ उनले भने, ‘विद्यार्थीलाई काउन्सिलिङ गरेर घर पठाएका छौँ ।’
भूकम्प प्रभावित रुकुम पश्चिममा कक्षा सञ्चालनका लागि दुई सय १३ अस्थायी सिकाई केन्द्र बनाइने भएको छ । विद्यालय हाताभित्र पाल टाँगेर वा टहरा बनाएर तत्काललाई कक्षा सञ्चालन गर्न सिकाई केन्द्र बनाइने शिक्षा विकास तथा समन्वय इकाई प्रमुख ताराप्रकाश पुनले जानकारी दिए । हाललाई भूकम्पले बढी क्षति गरेको आठबीसकोट नगरपालिकामा एक सय ३९ र सानीभेरी गाउँपालिकामा ७४ अस्थायी सिकाई केन्द्र स्थापना गरिने उनले जनाए ।
युनिसेफसँगको सहकार्यमा सिकाई केन्द्र स्थापना गरी पठनपाठन सुचारु गर्ने तयारी भइरहेको आठबीसकोट नगरपालिकाकामेयर रबि केसीले जानकारी दिए । भूकम्पले बस्न नमिल्ने विद्यालयमा सिकाई केन्द्र मार्फत एक साताभित्र पठनपाठनको तयारी भइरहेको उनको भनाइ छ ।
७४ वटा सिकाई केन्द्र निर्माण गर्न लागेको सानीभेरी गाउँपालिकामा पनि पठनपाठन हुन एक साता लाग्ने जनाएको छ । सानीभेरीको शिक्षा शाखा प्रमुख भुपालसिंह विष्टका अनुसार यहाँ पनि युनिसेफको सहयोगमा सिकाइ केन्द्र निर्माण भइरहेको छ । गाउँपालिकाले पाँच हजार विद्यार्थीलाई पाठ्यपुस्तक र पोसाक समेत उपलब्ध गराउने उनले जनाए ।
भूकम्पको केन्द्रविन्दू रहेको जाजरकोटमा पनि सिकाई केन्द्र स्थापना गर्ने निर्णय भएको छ । शिक्षा विकास तथा समन्वय इकाईका सूचना अधिकारी तिलक भट्टराईका अनुसार अस्थायी सिकाई केन्द्र निर्माणको निर्णय भए पनि कति बनाउनुपर्छ भनेर यकीन भइसकेको छैन । ‘जाजरकोटमा दुई सय ९० विद्यालयमा पूर्ण क्षति पुगेको विवरण छ, यी सबै विद्यालयमा कक्षा कोठामा राखेर पढाउने अवस्था छैन,’ उनले भने, ‘कति सिकाइ केन्द्र बनाउनुपर्छ भनेर मंगलबार टुंगो लाग्छ ।’
जाजरकोटमा १० हजार विद्यार्थीलाई शैक्षिक सामग्री आवश्यक
भूकम्पका कारण विद्यार्थीले पाठ्यपुस्तकसँगै अन्य शैक्षिक सामग्री गुमाएका छन् । जाजरकोटमा १० हजार विद्यार्थीलाई शैक्षिक सामग्रीको आवश्यकता देखिएको शिक्षा विकास तथा समन्वय ईकाइका सूचना अधिकारी तिलक भट्टराईले बताए । ‘कापी, किताब, पोसाक घरमै पुरिएका विद्यार्थीको संख्या १० हजार हाराहारी छ । उनीहरूका लागि शैक्षिक सामग्रीको आवश्यकता छ,’ भट्टराईले भने , कर्णाली प्रदेश सरकारले पाठ्यपुस्तक सहितका शैक्षिक सामग्री उपलब्ध गराउने आश्वासन दिएको छ ।’
भूकम्पले ५५ हजार विद्यार्थीको पढाइ प्रभावित
भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा मात्र ५५ हजार विद्यार्थीको पढाइ प्रभावित छ । जाजरकोटमा करिब ४३ हजार विद्यार्थी ररुकुम पश्चिममा १२ हजार बढी विद्यार्थी प्रभावित भएको दुबै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाईले जनाएका छन् । जाजरकोटमा दुई सय ९० वटा विद्यालय भवनमा क्षति पुगेको छ । यसबाट पाँच सय १६ वटा कक्षा कोठामा क्षति पुग्दा ४३ हजार विद्यार्थी प्रभावित बनेका छन् । भूकम्पले रुकुम पश्चिममा एक सय आठ विद्यालयमा र पाँच सय ४४ वटा कक्षा कोठामा क्षति पुगेको छ । एक सय ३८ शौचालयमा पनि क्षति पुगेको शिक्षा विकास तथा समन्वय इकाईको तथ्यांक छ ।
विद्यालय देख्नेबित्तिकै तर्सिन्छन् विद्यार्थी
भेरी दोभान माविमा खटिएकी सोसेक नेपालकी काउन्सिलर पार्वती थापाका अनुसार भूकम्पपछि विद्यार्थीले विद्यालय आउनै मानेका छैनन् । ‘घर भत्किएर त्रिपालमा पुगेका छन् । विद्यालयका भवन पनि भग्नावशेष छन्,’ उनले भनिन्, ‘यो अवस्था देखेर धेरै विद्यार्थीले विद्यालयको गेट नै पार गर्न मानेका छैनन् ।’ विद्यार्थीले आफ्नो कक्षाकोठा हेर्न आँट नगरेको उनले बताइन् । उनका अनुसार अब केही समय विद्यार्थीलाई पहिलेकै अवस्थामा ल्याउन खेल्नेदेखि रमाइलो गतिविधि सञ्चालन गर्नुपर्ने हुन्छ । सानीभेरी गाउँपालिका– १ की शारदा मल्ल पुन पाँच वर्षीय छोराको अवस्था देखेर दुःखी छिन् । ‘छोरा भेरी दोभानमा पढ्छ । सोमबार छोरालाई स्कुल पठाउन हम्मेहम्मे भयो । निकै रुने, डराउने गर्यो,’ उनले भनिन् ।




