काठमाण्डौ। विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेकामध्ये प्रमुख तीन राजनीतिक दलले शान्ति प्रक्रियाको बाँकी काम जतिसक्दो छिटो सक्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
शान्ति सम्झौतामा हस्ताक्षर गर्ने दलमध्येका नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका तीन शीर्ष नेताहरूले शान्ति प्रक्रिया सुरू भएयताको अवधिको समीक्षा गर्दै यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।
मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा माओवादी केन्द्र अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको थियो।
‘विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको दिनको सन्दर्भमा आज शान्ति सम्झौताका मुख्य साझेदार दल मध्यका तीन नेताहरूको बालुवाटारमा महत्त्वपूर्ण छलफल भएको छ,’ भेटबारे प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले भने, ‘शान्ति प्रक्रियाका बाँकी काम छिटोभन्दा छिटो पूरा गर्न हामी एकताबद्ध र प्रतिबद्ध रहेको उहाँहरूले बताउनुभएको छ।’
तत्कालीन विद्रोही माओवादी र दलहरूबीच २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौता भएको थियो। तर शान्ति प्रक्रिया सुरू भएको १७ वर्षसम्म पनि संक्रमणकालीन न्याय र शान्ति प्रक्रिया टुंगो लगाउन दलहरू सफल भइसकेका छैनन्।




