काठमाडौं । नारायणी सह-लगानी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको पाँचौं साधारणसभा सम्पन्न भएको छ । उक्त कार्यक्रममा नेसपाका राष्ट्रिय अध्यक्ष एवं संघीय सरकारका मा. खानेपानी मन्त्री श्री महिन्द्र राय यादवज्यू प्रमुख अतिथिका रुपमा सरिक हुनुभएको थियो । संस्थाको पाँचौं साधारणसभा र नारायणी सह-लगानी खानेपानी तथा सरसफाइ आयोजनाको समुद्घाटन गर्नुभई उहांले “सफा र स्वच्छ पानी पिउनु हरेक नागरिकको नैसर्गिक अधिकार” रहेको बताउनु भएको थियो ।
नारायणी सह-लगानी खानेपानी तथा सरसफाइ आयोजनाले मध्यपुर नगरपालिकाका वार्ड नं. २, ४ र ६ का १०५० घरधुरीलाई २४ घण्टा सुरक्षित तथा गुणस्तरीय खानेपानी उपलब्ध गराउने छ । यस आयोजना अन्तर्गत २ वटा डिप ट्युववेल, १ वटा ४५० घन मिटरको ओभरहेड टंकी, पानी प्रशोधन युनिट अन्तर्गत २ वटा प्रेसर फिल्टर निर्माण भएको छ । करिव ३१ कि.मि. पाइपलाइनबाट सुरक्षित खानेपानी वितरण भएको छ । करिव ११ करोड ३ लाखको लगानी (नेपाल सरकारको ७ करोड ६० लाख तथा उपभोक्ता समितिको ३ करोड २६ लाख) मा यो आयोजना सम्पन्न भएको छ ।
सोहि अवसरमा उहांले स्वच्छ नेपाल स्वास्थ्य नेपालीको भावना अनुरुप हरेक तह र तप्काका सरोकारवालाहरुले स्वच्छ पिउने पानी जनताको घरघरमा पुर्याउन पहल गर्नु पर्ने बताउनु भयो । सोहि अवसरमा गैडाकोट न. पा. मा रहेको नमुना शिवनगर खा. पा. आयोजना, देवचुली न. पा. मा रहेको रजहर खा. पा. आयोजना, कावासोती न. पा. मा रहेको अग्यौली खा. आयोजनाको पनि अनुगमन गर्नुभई, “पानी खुवाउने जस्तो पवित्र कार्य” गरेकोमा आयोजनाहरुलाई धन्यवाद दिनु भएको थियो ।
उक्त कार्यक्रममा खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक कमल राज श्रेस्ठ, संघीय आयोजनाका कार्यालय प्रमुख, खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्षज्यू , पदाधिकारीज्यू लगायतको उपस्थिति रहेको थियो ।
हरेक नागरिकलाई स्वच्छ पिउने पानीको पहुचमा पुर्याउन चिन्तित मन्त्री यादबले यस अघि कार्तिक २५ गते काठमाडौंको शिवपुरी क्षेत्रको अवलोकन भ्रमण गरी, त्यहां रहेका पानीका स्रोतहरुलाई कसरी बढी भन्दा भढी प्रयोग गर्न सकिन्छ भन्ने सम्बन्धमा स्थानिय निकाय र सरोकारवालाहरुसंग अन्तर्क्रिया गर्नु भएको थियो ।





