विर्तामोड । राजा ज्ञानेन्द्र शाहले झापामा निर्माण गरिएको पृथ्वीनारायण शाहको शालिक अनावरण गरेका छन् ।
विर्तामोड–१ मा सञ्चालित इकम कलेज परिसरमा स्थापना गरिएको शालिक शनिबार दिउँसो उनले अनावरण गरेका हुन् ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संयोजन गरेको कार्यक्रममा पुगेर उनले शालिक अनावरण गरेका हुन् ।
कार्यक्रमका लागि शाह शुक्रबारै झापा पुगेका थिए । उनी बसेको धुलाबारीस्थित होटल मेची क्राउनबाट नारावाजी र र्यालीसहित विर्तामोडस्थित कार्यक्रमस्थलमा ल्याइएको थियो ।
राप्रपाका कार्यकर्ताहरुले राजतन्त्रको पक्षमा नारावाजीसहित उनलाई विर्तामोडसम्म ल्याएका थिए । विर्तामोडस्थित भाटभटेनी सुपरमार्केट नजिकबाट पूर्वराजा शाह हिँड्दै कार्यक्रम स्थलतिर गएका थिए । त्यतिबेला प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध समेत नारावाजी भएको थियो । शालिक अनावरणपछि शाहले केहिवेर सांस्कृतिक कार्यक्रम अवलोकन गरेर निस्किएका थिए । शाहले भने कार्यक्रममा सम्बोधन गरेनन् ।
कार्यक्रममा राष्ट्रिय गान भन्दै ‘रातो र चन्द्र सूर्य’ बोलको गीत प्रस्तुत गरिएको थियो । काठमाडौंमा दुर्गा प्रसाईंले व्यवस्था परिर्वतन गर्ने भन्दै प्रदर्शन गरिरहेका बेला राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले संयोजन गरेको कार्यक्रममा शाह उपस्थित भएका हुन् ।कार्यक्रम लक्षित गरेर शनिबार झापामा सुरक्षा व्यवस्था कडा पारिएको थियो




