विराटनगर । सरकारी छाप तथा दस्तखत किर्ते गरेको आरोपमा मोरङमा पाँच जना पक्राउ परेका छन्।
मोरङको रतुवामाई नगरपालिका–४ का ६५ वर्षीय चेतनलाल राजवंशी, ६२ की झरियादेवि राजवंशी, ६३ वर्षीय विष्णु राजवंशी, ६३ वर्षीय पैखनलाल राजवंशी र ६४ वर्षीय कन्हारुलाल केवरतलाई पक्राउ परेका हुन्।
मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालका अनुसार उनीहरूले रतुवामाई नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष देवीलाल ताजपुरियाको दस्तखत, वडा कार्यालयको छाप र लेटरप्याड किर्ते गरी सिफारिस बनाएको उजुरी परेपछि पक्राउ गरिएको हो।
उनका अनुसार सिफारिस पत्रको सबै कुरा किर्ते पाइएको र पत्रको चलानी नम्बरसमेत नमिलेको भेटिएको छ।
३ नम्बरका वडाध्यक्ष देवीलाल ताजपुरियाले पक्राउ परेकाविरुद्ध सरकारी छाप दस्तखत किर्तेमा जाहेरी दर्ता गराएका छन्। मालपोत कार्यालयमा जग्गा पास गर्दा घरबाटोको सिफारिस चाहिने हुन्छ। उनीहरूले सोही सिफारिस पत्र नै किर्ते गरी मालपोत कार्यालय रंगेलीमा पेश गरेपछि घटना बाहिरिएको हो।




