जनकपुर । बढ्दो ध्वनि प्रदूषणबाट जनकपुरधामका बासिन्दा हैरान छन्। सवारीसाधनको चर्को हर्न सामाजिक–सांस्कृतिक कार्यमा बज्ने लाउडस्पिकर (चर्को ध्वनिको माइक) बाट पनि सताइएका छन्। यहाँ सामान्य पारिवारिक समारोहमा पनि चर्को आवाजमा गीत बजाउने चलन छ।
Advertisement
मधेस प्रदेशको राजधानी जनकपुरधाममा ‘कानै फुट्ने’ ध्वनि प्रदूषण छ। विभिन्न समारोह हुँदा मध्यरातसम्म सहरभरी फैलिने गरी लाउडस्पिकर बज्छ। घना बस्तीको सहरभित्रै गाडीको प्रेसर हर्न उस्तै चर्को हुन्छ।
जनस्वास्थ्य सेवा ऐन, २०७५ मा ‘ध्वनि, वायु तथा जल प्रदूषणले जनस्वास्थ्यमा पार्ने प्रभाव न्यूनीकरणका लागि संघीय कानून बमोजिम नेपाल सरकारले मापदण्ड निर्धारण गर्न सक्ने’ प्रावधान छ। कानून त छ तर त्यसअनुसार चर्को ध्वनि नियन्त्रण गर्न तीनै तहका सरकारले कुनै चासो देखाएका छैनन्।




