काठमाडौँ । नेतृत्वको आचरण समाजको ऐना हो । नेतृत्वले संयमता गुमाउदा समाजमा नराम्रो सन्देश जान्छ । यस्तै एक घटना नेपाल प्रहरीका इन्स्पेक्टरले सर्वसाधारणलाई थप्पड हानेको एउटा भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’को प्रदर्शन स्थलमा ती सर्वसाधारणलाई प्रहरी निरीक्षकले थप्पड हान्दै ‘अपशब्द’ बोलेका छन् ।
मङ्सिर ७ मा बल्खुबाट प्रदर्शन सुरु गरेका प्रसाईंले सोमबार गौशालामा प्रदर्शन गरे । कार्यक्रम स्थलबाट प्रहरीले प्रदर्शनकारीहरूलाई पक्राउ गरिरहेको छ ।
सबैभन्दा धेरै आन्दोलनकारी मङ्सिर ८ मा तीनकुनेबाट पक्राउ परेका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलका अनुसार त्यसदिन २६१ जना पक्राउ परे । तीमध्ये ५ जनालाई मुद्दा चलाइएको छ ।
प्रदर्शनमा सहभागी हुन नआएको र घरतर्फ हिँडेको बताउँदा पनि सर्वसाधारणलाई थप्पड हान्ने इन्स्पेक्टर हुन् तिलकबहादुर बम । नगर प्रहरी कार्यालय भृकुटीमण्डपमा कार्यरत बमले थप्पड हान्दै ती सर्वसाधारणलाई भन्छन्-‘चुप, बढ्ता नबोल ।’
थप्पड खाँदा पनि ती सर्वसाधारणले सोधेका छन्-‘हात किन छाड्नु भो सर् ?’ इन्स्पेक्टर बम रोकिँदैनन् । भन्छन्-‘किन बोल्या ?’ इन्स्पेक्टरले सर्वसाधारणलाई प्रश्न गर्न बन्देज लगाउँदै थप्पड हानेको भिडियो फेसबुक र ट्विटरमा भाइरल छ । तर, सँगै रहेका जुनियर प्रहरीहरूले भने संयतता अपनाएका छन् ।
सर्वसाधारणले आफू घर हिँडेको भन्दै प्रश्न गरेका छन्-‘हामी घर जान लाग्या मान्छे अब लुक्ने ? बोल्न नपाउने ?’ प्रसाईंको आन्दोलनमा सहभागी भएका धर्मगुरु आचार्य श्रीनिवास सहित १४ जनालाई प्रहरीले सोमबार गौशाला चोकबाट पक्राउ गरेको छ । श्रीनिवासले अराजक अभिव्यक्ति दिएको आरोप छ ।




