सिन्धुपाल्चोक । ईच्छा हुनुपर्यो बाटो हजार आउछ्न, भनेजस्तै हेलम्बु गाउँपालिकाले शुरु गर्यो, “एकीकृत सिकाइ केन्द्र”।
सिन्धुपाल्चोक स्थित हेलम्बु गाउँपालिकाले हरेक विद्यालयमा ११/१२ कक्षा पढाइ हुँदा विद्यार्थीको अभाव हुने, शिक्षक व्यवस्थापनमा समस्या हुने, सबै माविमा १०+२ चलाउदा खर्च बढ्ने र खर्चको अनुपातमा नतिजा पनि राम्रो नआउने भएकोले गाउँपालिकाले उपाय निकाल्यो, एकै ठाउँमा राखेर सबैलाई पढाउने । जसको नाम राखियो, “एकीकृत सिकाइ केन्द्र” । यसबाट सबै पढाई एकै ठाउँमा हुने भएकोले बिद्यार्थीले आफूलाई मनपर्ने विषय पढ्न पनि पाउने भए र संचालन खर्च पनि कम हुने भयो ।
यतिमात्रै होईन, पालिकाले कक्षा १२ सम्मको शिक्षा नि:शुल्क, पोशाक र खाजा पनि नि:शुल्क बनाएको छ र दुर्गम भेगका विद्यार्थीलाई सहज होस् भनेर हालै गाउँपालिकाले दुईवटा स्कुल बस किनेको छ र बस सेवा पनि नि:शुल्क छ । पालिकाको यस नमुना कार्यवाट झण्डै २५० विद्यार्थीले प्रतक्ष्य फाईदा लिएका छन् ।
” ७ वडा मा भएका १२ माविमा सबैमा १०+२ चलाउदा खर्च बढ्ने, शिक्षकको समस्या पर्ने र सोचे जस्तो र खर्चको अनुपातमा नतिजा पनि राम्रो नआउने भएकोले, गाउ पालिकाले “एकिकृत सिकाई केन्द्र” सन्चालन गर्ने सोचाई अगाडी बढाएको पालीका प्रमुख निमा ग्याल्जेन ह्योल्मोले बताउनु भयो । यसमा पालीकाको आन्तरिक श्रोत र निशर्त अनुदानको रकमबाट खर्च गरिएको पालीकाका अध्यक्षले बताउनु भयो ।
पालिका परिचय
हेलम्बु गाउँपालिकाको नामाकरण तत्कालिन हेलम्बु गा.बि.स. बर्तमान गाउँपालिकाको वडा नं १ सँग जोडिएको छ । हेलम्बु भन्नाले एउटा गाउँ मात्र नभएर यसले भेगको प्रतिनिधित्व गर्दछ । साबिकको हेलम्बु गा.वि.स.को नाम २०४९ सालको निर्वाचन सम्पन्न भएपछि निर्वाचित पहिलो गा.वि.स.ले नाम परिवर्तन गरेर हेलम्बु राखेको हो । राज्यको पुन संरचनासँगै यहाँका ५ वटा तात्कालिन गा.वि.स.हरु क्रमश : हेलम्बु, किउल, पाल्चोक, महाँकाल र इचोकलाइ मिलाएर हेलम्बु गाउँपालिकाको निर्माण भएको छ । यो पालिकामा ७ वडाहरु रहेका छन् ।
हेलम्बु गाउँपालिकाको उत्तर पुर्वमा पाँचपोखरी थाङपाल गाउँपालिका, पश्चिमतर्फ तर्फ दुप्चेश्वरी गाउँपालिका, नुवाकोट जिल्ला, उत्तर तर्फ रसुवा जिल्ला दक्षिणतर्फ मेलम्ची नगरपालिका पर्दछ । यस पालिकामा विभिन्न जातिका मानिसहरुको वसोवास रहेता पनि ह्योल्मो जातिको बाहुल्यता छ । सो अलावा शेर्पा, तामाङ, क्षेत्री, बाहुन, दलित समुदाय लगायतका जातिहरु पनि बसोबास गर्छन् । यो पालिकाको नाम ह्योल्मो जातिको पहिचान खुल्ने गरी हेलम्बु गाउँपालिकाको नामाकरण भएको कुरा मान्न सकिन्छ । २८७.२६ ब. मि. क्षेत्रफल भएको यस पालिकामा पछिल्लो गणना अनुसार १७४९७ जनसंख्या रहेको छ । अधिकांश भुभाग पहाड र सुन्दर डाँडा पाखाले भरिएको यस गाउँपालिकाको उचाई समुन्द्री सतहबाट करिब १००० मिटर देखि ५००० मिटर सम्मको भुभाग पर्दछ । यहाँका मानिसहरुको मुख्य पेशा कृषि हो ।




