चितवन। चितवनको सौराहामा मंगलबारदेखि १७औँ हात्ती महोत्सव सुरु भएको छ।
क्षेत्रीय होटल संघ सौराहाको आयोजनामा महोत्सव हुन लागेको हो। कोरोना महामारी पछि स्थगित भएको महोत्सव चार वर्षमा आयोजना गरिएको हो।
यसपटक चित्रसारीको चौरमा महोत्सव गर्न लागिएको हो। यसअघि बाघमारा मध्यवर्ती सामुदायिक वनमा हात्ती महोत्सव हुँदै आएको थियो।
महोत्सवमा हात्तीको वनभोज, हात्ती सुन्दरी प्रतियोगिता गर्ने आयोजक क्षेत्रीय होटल संघका महासचिव गुणराज थपलियाले जानकारी दिए।
यससँगै डुङ्गा दौड, पर्यटकीय गोष्ठी र सेमिनार हुने उनले बताए। यसपटक ३० निजीसहित ४० हात्ती वनभोजमा सहभागी गराइने भएको छ। अंग्रेजी नयाँ वर्षमा पर्यटक भित्र्याउने उद्देश्यका साथ आयोजित महोत्सव पुस १४ गतेसम्म चल्नेछ।
चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती सामुदायिक वन र यससँगै बग्ने नदीमा रहेका वन्यजन्तु, चराचुरुङ्गी, जलचरलगायतको अवलोकन गर्न बर्सेनि सौराहामा स्वदेशी तथा विदेशी पर्यटक आउने गर्दछन्।




