झापा । मेची भन्सार प्रमुख रामप्रसाद रेग्मी गत बुधवार सधै झैँ कार्यालय तिर लम्किदै थिए । कार्यालय परिसरको गेटमा पुगेका मात्रै थिए, त्यो बिहान उनले फरक दृष्य देखे । पूर्व–पश्चिम एसियन हाइवेको दक्षिणतिरको चेकपोष्ट नजिकै केही थान पोको थुपारिएको थियो । प्रहरी र भन्सार कर्मचारीले पोको लिएर आउनेलाई इशारा गरेर ‘घुस’ प्रस्ताव गर्दै थिए ।
घुस लेनदेनको टुंगोटाङ्गी भएपछि एक जना प्रहरीले ती ‘पोके व्यापारी’ लाई आँखाको इसारामै ‘जाँदा हुन्छ’ भनेको उनलाई आभाष भयो ।
गेट नजिकै उभिएर सबै दृष्य नियालिरहेका भन्सार प्रमुख रेग्मीलाई अचानक देखेपछि अत्तालिएका प्रहरीले जान लागेको व्यापारीलाई पुनः रोके । भन्सार प्रमुख रेग्मी चेकपोष्ट नजिकै गए अनि आफ्ना कर्मचारी, सशस्त्र र नेपाल प्रहरीलाई सडकमै तथानाम गालीगलोज गर्दै भने,‘राष्ट्र सेवक भएर तस्करीलाई बढावा दिने ? तिमीहरु पैसा उठाउन बसेका कि सुरक्षा गर्न ?’
भन्सार प्रमुख कड्किएपछि तीन वटै निकायका कर्मचारी मुकदर्शक बनेका थिए । उनले घुस लिएर छाड्न लागेको ३५ किलो चकलेट तत्काल जफथ गर्न पनि निर्देशन दिए । ‘खुलेआम घुस लेनदेन गरेको देखेपछि चै साह्रै असह्य भयो र मुख नै छाड्न बाध्य भएँ’, रेग्मीले भने, ‘त्यो दिनको जस्तो लज्जाबोध मलाई यसअघि कहिल्यै भएको थिएन ।’
नेपाल–भारत सीमा छुट्याउने देशको यो प्रवेशद्धार भारतले बनाइदिएको फराकिलो सडक सहितको ६ लेन पुलले जति मनमोहक र सुन्दर देखिन्छ, नाकामा खटेका सुरक्षा निकाय र भन्सार कर्मचारीवाटै हुने गरेका गलत कर्मले यो नाका त्यति नै ‘बदनाम’ बन्दै गएको छ ।
पूर्वी नाकामा प्रवेश गर्ने पर्यटक र सर्वसाधारण यात्रीले सास्ती बाहेक केही पाउँदैनन् । प्रहरीले सर्वसाधारण र पर्यटकको सामान खानतलासी गर्छ । तर, तस्करलाई आँखाको इसारामा छोडीदिन्छ । खासमा यो नाकाबाट पर्यटकहरु आउन नचाहनुको प्रमुख कारण सुरक्षा निकायबाट भइरहेको सास्ती पनि एक रहेको एक पर्यटन व्यवसायीले बताए । ती पर्यटन व्यवसायीले भने,‘घुस मागेर हैरान पारेपछि को पर्यटकलाई आउन मन लाग्छ यहाँ ?’
पुरानो मेची पुलबाट शुरु भएको सुरक्षा जाँच करिव सय मिटर आसपास दर्जन ठाउँमा जारी रहन्छ । भन्सारको यात्रु शाखामा भन्सार र सशस्त्रको जाँच हुन्छ । भन्सार वाहिर पुनः नेपाल प्रहरी तैनाथ छ । राजमार्ग दक्षिण प्रहरी, सशस्त्र र भन्सार तीनै निकायको संयुक्त जाँच चौकी छ ।
लागू औषध व्युरोले पनि छुट्टै जाँच गर्छ । रोचक कुरा के भने दर्जन ठाउँमा जाँच चौकी थापेर वसेका भन्सार र सुरक्षा निकायले अहिलेसम्म अवैध र गैरकानुनी रुपमा नेपाल भित्रिएको वस्तु वरामद गरेर भन्सार वुझाएको विरलै छ । ‘अवैध सामान थाहा पाउने वित्तिकै घुस लेनदेन शुरु भइहाल्छ’, एक भन्सार कर्मचारीले भने,‘घुस पाएपछि जे सुकै होस् सवै मिलेर छाड्न तयार हुन्छन् ।’
भन्सारमा राजश्व संकलन नभएर हैरानी व्यहोरिरहेको छ । तर, नाकावाटै खुलेआम घुस लिएर दिनहु करोडौको मालवस्तु छाड्न भन्सार कर्मचारी र सुरक्षा निकाय उद्धत देखिन्छन् । ‘नाकामा ड्युटी वस्ने कुरामै दुवै प्रहरी र भन्सार कर्मचारीको हानाथाप हुन्छ’, भन्सारका एक अधिकृतले भने,‘तर, अवैध सामान समात्ने उद्देश्य उनीहरुको हैन, कसरी वढी घुस असुल्ने भन्ने मात्रै हो ।’
घुसवापत संकलित रकम प्रहरीहरुले आफ्ना हाकिमसम्म हात लगाउने गरेको बताइन्छ । ‘दिनभरी संकलन भएको घुस ड्युटीपछि भागवण्डा हुन्छ’, एक प्रहरीले भने । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डिएसपी दिपक भारतीले घुस असुलेको पुष्टी भए प्रहरीलाई तुरुन्त कार्वाही गरिने जनाए । ‘हामी अवैध गतिविधि नियन्त्रणकै लागि वसेका हौ’, उनले दावी गरे,‘घुस लिएर सामान छाड्ने गल्ती हामीवाट हुदैन ।’(साभार)




