कैलाली । धनगढीमा पहिलो पटक रानाथारु भाषा साहित्य सम्मेलन हुने भएको छ । रानाथारु समुदायको मौलिक कला, संस्कृति र भाषा जोगाउने उद्देश्यका साथ मङ्सिर २३ गते रानाथारु भाषा साहित्य सम्मेलन आयोजना गर्न लागिएको हो ।
सम्मेलन धनगढीको द रुबस होटलमा आयोजना हुने आयोजक राना कला संस्कृति संरक्षण तथा विकास मञ्चले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानको विशेष सहकार्यमा हुने सम्मेलनमा नेपाल-भारतबाट करिब अढाई सय जना रानाथारु समुदायका अग्रज, रानाथारु भाषाको ज्ञाता, बुद्धिजीवी, लोक साहित्यकारलगायतको सहभागिता रहने जनाइएको छ ।
यसैगरी, रानाथारु भाषासँग निकट सम्बन्ध भएका लेखक, इतिहासविद्, भाषाविदले पनि सम्मेलनमा सहभागिता जनाउने कार्यक्रम संयोजकले बताउनुभयो ।
सम्मेलनमा रानाथारु भाषा, संस्कृतिको सवालमा तीनवटा कार्यपत्र प्रस्तुत हुने जनाइएको छ । यसैगरी, रानाथारु समुदायका नयाँ र पुराना पुस्ताबिच भाषा संरक्षणको सवालमा घनिभूत छलफल गरिने संयोजकले बताउनुभयो । “हाम्रो नयाँपुस्ता आफ्नै भाषालाई त्यति वास्ता गरेको देखिँदैन” उहाँले भन्नुभयो, “भाषा लोप हुने डरले यसको मौलिकतालाई बचाइ राख्न सम्मेलन गर्न लागेका हौँ ।”
सम्मेलनमा रानाथारु समुदायको नृत्य प्रस्तुत गर्नुका साथै रानाथारु भाषामा लेखिएका पुस्तकहरूको विमोचन र रानाथारु समुदायको भाषा, कला, संस्कृति संरक्षणको सवालमा अग्रसर सङ्घ संस्थालाई सम्मान गरिने जनाइएको छ । कैलाली, कञ्चनपुरमा रानाथारु समुदायको बसोबास रहेको छ ।




