• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, बैशाख १५, २०८३
☰
मङ्गलबार, बैशाख १५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

तिम्रो नाम हर्क गुरुङ, मेरो नाम साम बहादुर


  •   आइतबार, मङि्सर १७, २०८० मा प्रकाशित
  • भारतका पहिलो फिल्ड मार्सल साम मनेक्शले पाँचवटा युद्ध लडे, नौवटा गोली खाए । बर्माको जंगलमा जापानी सेनाले विमानबाट बम बर्साउँदा उनी मुस्किलले बाँचेका थिए । गोर्खा सैनिकहरुसँग गहिरो दोस्ती बनाएका सामबारे मेघना गुल्जारले बनाएको सिनेमा यतिबेला चर्चामा छ ।

    Advertisement

    आठौं गोर्खा राइफल्समा सिपाही हर्क गुरुङले आफ्नो नयाँ कमान्डर साम हर्मस्जी फ्रामजी जमशेदजी मनेक्शको नाम ठीक उच्चारण गर्न सक्ने कुरै थिएन ।

    कमान्डर साम टोलीको निरीक्षण क्रममा एउटा जवानलाई नेपाली भाषामा सोध्छन्, ‘तिम्रो नाम के हो ?’

    ‘मेरो नाम हर्क गुरुङ, साप ।’

    ‘मेरो नाम के हो ?’

    ‘साम… । साम… । साम… । सरी साप । साम… साम बहादुर साप ।’

    हर्क गुरुङ पात्रले आफ्नो रेजिमेन्ट कमान्डरलाई दिएको नामबाट बनेको छ मेघना गुल्जार निर्देशित बायोपिक सिनेमा ‘साम बहादुर ।’ आफूलाई सिपाहीले साम बहादुर बोलाउँदा भारतको पहिलो फिल्ड मार्शल साम मनेक्शको चरित्र निभाएका विक्की कौशलको अनुहारमा जुन भाव देखिन्छ, त्यसले सिनेमा हलमा यो पंक्तिकारको ठीक पछिल्लो सिटमा बसेका दर्शकहरुमा बेग्लै तरंग प्रवाह गर्‍यो । कानेखुसीबाट बुझिन्थ्यो, यी दर्शक नेपाली सेनाका अधिकृत र जवान हुन् ।

    सारा दर्शकहरु रणवीर कपुर स्टारर ‘एनिमल’तर्फ सोहोरिंदा यी सैनिकहरु ‘साम बहादुर’ हेर्न आउनुको कारण स्पष्टै थियो, मेघना गुल्जारले बनाएको साम बहादुर सिनेमाले प्रत्येक सैनिकको, अझ गोर्खा र नेपालीहरुको भावनालाई बढ्ता छुन्छ । पञ्जाबी पृष्ठभूमिका साम मनेक्श (१९१४–२००८) आफ्ना सिपाहीहरुबीच प्रिय कमान्डरका रुपमा चित्रित थिए । जुन रेजिमेन्टको कमान्ड सम्हाल्न गयो, त्यही मौलिकता झल्किने उपनाम राख्थे । सामको बेग्लै रोबरवाफ, बोलाइ, हिंडाइ, मौनता यी सबैलाई विक्की कौशलले जुन गहिराइमा व्यक्त गर्न सके, त्यसको काफी प्रशंसा गरेर यो आलेख अघि बढाउनु उपयुक्त हुन्छ ।

    जवान हर्क गुरुङलाई सोझो र इमान्दार सिपाहीका रुपमा देखाउँदै कमान्डरले उनको कदर गरेको कथा सिनेमामा छ । अरु पनि केही गोर्खाहरु सिनेमाभरि छन् । तिनको वीरता र शौर्यलाई भारतीय फिल्मका दर्शकहरुको बीचमा सकारात्मक ढंगले बढाइचढाइ गरिएको छ । बन्दुक र खुकुरीसमेत उज्याउँदै शत्रुपक्षसँग लड्न गएका गोर्खाहरुले नेपाली समाजलाई नछुने कुरै भएन ।

    गोर्खा फाैजलाई विश्वयुद्धदेखि विभिन्न युद्धमा अर्को देशका लागि लड्न बाध्य पारिएको भन्दै नेपालमा न्यायको खोजी भइरहेको छ, तर त्यो पक्षलाई सिनेमाले छुने काम गर्दैन । यो पैरवी गर्नलाई मेघनाले फिल्म बनाएकी पनि होइनन् । भारतीय आँखाबाट खिचिएको फिल्मको सामर्थ्य र सीमालाई एकैसाथ बुझेर साम बहादुर हेर्दा नेपाली दर्शक लाभान्वित हुनेछन् ।

    एउटा सिरिज नै बनाउँदा पनि भनिसक्न बाँकी रहलाजस्तो साम बहादुरको बहुआयामिक कथालाई मेघना गुल्जारले फास्ट फरवर्ड शैलीमा भनेकी छन् । २ घन्टा २८ मिनेटको सिनेमाले दोस्रो विश्वयुद्धमा भारतीय पक्षले जापानीसँग लडेको कथासँगै गति लिन्छ । सामको जीवनका वास्तविक कथाहरुलाई फिल्मी स्वाद दिंदा मेघना यतिबेला भारतमा चलिरहेको राष्ट्रवाद र धर्मको राजनीतिबारे पूरा सचेत देखिन खोजेकी छिन् ।

    ५५ करोड भारु खर्चेर बनाएको सिनेमाले इतिहासमा टेक्दा वर्तमानको संस्थापनलाई चिढ्याउन चाहेको देखिंदैन । तर संस्थापनको जतिसुकै राम्रो बन्न खोजे पनि पाकिस्तानबाट बंगलादेश फुटाएको जस इन्दिरा गान्धीलाई दिन खोजेको भनेर यतिखेर भाजपा समर्थकबीच मेघनाको आलोचना पनि भइरहेको छ । सन् २०२४ जुनमा हुने लोकसभा चुनाव पर्खिरहेको भारतलाई इतिहासका कथा बताउँदा पनि वर्तमानको शक्तिसंघर्षको मतलब हुन्छ ।

    त्यसैले भारतीय र हिन्दु, बरु सिख समेतको भावनालाई छुँदा भारतीय मुस्लिमहरुको कथा साम बहादुरमा कतै आउँदैन । मानौं, भारतको स्वतन्त्रता, अनि फिल्ड मार्सल सामले जंगी जीवनमा बिताएका चार दशकमा ती कतै थिएनन् । जवाहरलाल नेहरुलाई कमजोर, वल्लभभाइ पटेललाई सार्थक, याया खानलाई सक्दो भिलेन, कृष्ण मेननलाई नकारात्मक, अनि जगजीवन रामलाई सकारात्मक तर निरीह देखाउनु निर्देशकको राजनीतिक चलाखी हो ।

    यसै क्रममा आउँछ इन्दिरा गान्धीको चर्चा, जहाँबाट सामको व्यक्तित्वले अर्को उचाइ पाउँछ । किनभने भारतबाट पाकिस्तान छुट्टिएको बदला लिन सन् १९७१ को बंगलादेश विभाजन साम सेनाको प्रमुख बनेकै बेला घटित हुन पुग्छ । सुरुमा नकारात्मक चित्रण गर्दै विकास गरिएको इन्दिरा गान्धी (फातिमा साना शेख) सामसँग आकर्षित, त्रसित र शंकालु एकैपल्ट हुन्छिन् । इन्दिरा प्रधानमन्त्री बनेकै बखत सामले भारतमा सैन्य कु गर्ने गाइँगुइँ भित्रभित्रै चलेको थियो । घरि प्रधानमन्त्री इन्दिरालाई नै स्वीटी भन्दै आफ्नो काँधमा मुन्टो राख्न हौस्याउने, घरि सेनाले अर्डर त मान्छ, तर यो सम्भव छैन म्याडम प्राइममिनिस्टर भनेर तर्साउने सैनिक जनरलसँग इन्दिराको अन्तरव्यक्ति सम्बन्धमा देखा पर्ने उतारचढाव नै सिनेमाको मूल टर्निङ प्वाइन्ट हो । यस क्रममा भारतको सत्ता–शक्तिमा प्रभावशाली रहेका अरु पात्रहरु इन्दिरा र सामकै वरिपरि घुमिरहन्छन् ।

    चीनसँग १९६२ को युद्ध लड्न पठाउँदा होस् या पाकिस्तानसँग पटकपटक टक्कर पर्दा, सामलाई भरपर्दो आड बनेका छन् गोर्खा सैनिक । सिनेमाको नाममै बहादुर आउने गरी तिनको योगदान भने फिल्मभरि खासै झल्किंदैन । केही गुरुङ, तामाङ सैनिकको नाम, केही नेपाली वाक्य, अनि जय जय काली, आयो गोर्खाली भन्दै खुकुरी उज्याउँदै जाइलाग्ने पात्रहरु छन् । यत्ति ।

    एकातिर एनिमलजस्तो ब्लकबस्टर सिनेमासँग बक्स अफिसमा लड्न आएकाले, अर्कातिर भारतका पहिलो फिल्ड मार्सल साम मनेक्शजस्ता ऐतिहासिक पात्रमाथि तीव्र गतिको कथा ल्याएकाले साम बहादुरको यतिखेर विशेष चर्चा छ । माथि नै भनिसकियो, आठौं गोर्खा राइफल्समा हुँदा सामको नाम साम मनेक्शबाट साम बहादुर हुन पुग्यो । आफ्ना सारा उपनाममध्ये त्यो उपनाम आफूलाई सधैं मन पर्ने उनले अन्तर्वार्ताहरुमा बताएका छन् । चार दशक सेवा, पाँचवटा युद्ध, नौवटा गोली (आफ्नो शरीरमा) उनीसँग जोडिएर आउने कहावत बन्न गयो । बर्माको जंगलमा जापानी सेनाले आकाशबाट बम बर्साउँदा उनी मुस्किलले बाँचेका थिए । उनका डाक्टर पिताले त छोरो बाँच्ने आशै मारिसकेका थिए ।

    जवाहरलाल नेहरुदेखि इन्दिरा गान्धीसँग काम गर्न पुग्दा सामले धेरै उतारचढाव बेहोरिको देखिन्छ । उनी भारतीय सेनाको प्रमुख बनेकै बेला पाकिस्तानबाट बंगलादेश विभाजनको लागि भारतीय पक्षको तर्फबाट सबै पहल लिए ।

    युद्धमा पछि हट्ने सैनिक समूहलाई चुरा पठाएर व्यंग्य गर्ने साम प्रशस्तै भालेवादी सोच राख्छन् । सम्भवतः सेनाभित्रको तत्कालीन संरचनालाई यसले प्रतिविम्बित गर्छ, जसलाई पर्दामा देखाउन मेघनाले अप्ठेरो मान्नुपर्ने कारण पनि थिएन । आफ्नो हास्यचेत, अनि युवती आकर्षित गराउने कलाबारे साम आफैं आफैंले अन्तर्वार्ताहरुमा जवाफ दिनुपरेको रहेछ । बीबीसीमा करण थपरसँग कुनै बेला अन्तर्वार्ता दिने क्रममा समेत सामले त्यसबारे बोलेका छन् । उनकी पत्नीको भूमिकामा रहेकी सान्या मलहोत्राको अभिनय सामकै पेशागत जीवनको उतारचढाव झल्काउन परिपूरक भएर आएको छ ।

    साम मनेक्शको जीवनको ट्यागलाइन नै बन्न पुग्यो, ‘आईएम ओके ।’ सेनाको स्थानीय कमान्डरदेखि प्रमुखसम्म बन्दा उनले बेहोरेका प्रतिकूलता ओके थिएनन्, तर उनले बोलेको सामान्य वाक्यलाई अर्थपूर्ण बनाउने गरी बोलेको आईएम ओके नै नेपालीमा प्रकट छ ।

    उनी आफूमाथि कोर्ट मार्सल भइरहेका बेला आफ्नो प्रतिरक्षा गर्न हेडक्वार्टर गइरहेका हुन्छन् । ढोकामा गोर्खा सैनिकले सलाम गर्छ । साम त्यसलाई नेपालीमा सोध्छन्, ‘के छ ? सब ठीक छ ?’

    गोर्खा जवान : ‘ठीक छैन साब ।’

    साम : ‘सब ठीक भइहाल्छ ।’

    सामलाई त्यसपछि ओके हुन्छ कि हुँदैन भन्ने थाहा पाउन सिनेमा नै हेर्नुपर्छ । सिनेमा सकिएपछि नेपाली सेनाका जवानहरुलाई दिएको सन्तुष्टि भने याद गर्न लायक थियो । भारतीय सेनाको कमान्डरलाई बहादुर देखाएर, नेपाली गोर्खा बहादुरलाई तिनको सामान्य सहयोगी देखाएर बनाएको सिनेमामा धेरैवटा युद्ध लडेको सिपाहीमा हुने आत्मबल र ऊर्जा सायद नेपाली दर्शक सेनाहरुमा समेत प्रसार भएको हुनुपर्छ ।

    सिनेमामा सामले रक्षा सचिव कृष्ण मेननसँग बोलेको एउटा वाक्य छ, ‘म सेनालाई कामदार मिस्त्री बनाउन चाहन्न, उसले हरबखत युद्ध तयारी गर्नुपर्छ ।’ विकासका कामहरुमा जंगी अड्डाबाट खटाउने गरिएका नेपाली जवानहरुलाई यो वाक्यले कस्तो अनुभूति दिलायो होला, यो चाहिं सोधिएन । (साभार)

    आइतबार, मङि्सर १७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख १२ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • ३.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ४.
      आज २०८३ साल वैशाख १३ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    • ६.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न:

    भर्खरै

    • १.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    • २.
      आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      मासिक राशिफल: वैशाख २०८३

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer