काठमाडौं । खानेपानीमन्त्री महिन्द्रराय यादवले मेलम्चीको पानी काठमाडौँ पठाउन तीव्र गतिमा काम भइरहेको बताउनु भएको छ । ‘बाढीले मुहानस्थलमा निकै क्षति पुर्याएको छ, काठमाडौँवासीलाई पानी उपलब्ध गराउनका लागि हामीले तीव्रगतिमा काम गरेका छौँ, चाँडै पानी काठमाडौँ पुर्याउँछौं,’ उहांले बताउनु भयो । बिगत ३ दिन देखि मन्त्री यादव, खानेपानी सचीव तथा मेलम्ची आयोजनाका बोर्ड अध्यक्ष राम आधार शाह, मेलम्ची बोर्ड सदस्य तथा हेलम्बु गाउपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पा लगाएतको टोली मेलम्ची क्षेत्रमा नै रहनु भएको छ । टोलिले मेलम्ची खानेपानी आयोजनाको फेज २ याङ्ग्री लार्के खोलाको इन्टेक बनाउनुपर्ने स्थल पाचपोखरी गाउपालिका २ को पहिलो पटक स्थलगत अवलोकन गरेको छ । शुक्रबार मेलम्ची खानेपानीको मुहानस्थल हेलम्बु अम्बाथान लगायतको क्षेत्रको स्थलगत अनुगमनका लागि आएका मन्त्री यादवले बाढीका कारण मुहानलगायत क्षेत्रमा समस्या भए पनि, पानी काठमाडौँ पठाउन तीव्र गतिमा काम भइरहेको बताउनु भयो ।
“मेलम्ची, याङ्ग्री र लार्के ३ वटै खोलाको पानी काठमाडौं पुग्यो भने दैनिक ५१ करोड लिटर पानी आउँछ । याङ्ग्री र लार्के २ वटा खोला बाट १७/१७ करोड लिटर पानी आउने हो । याङ्ग्ग्री लार्के मेलम्ची को दोस्रो परियोजना हो” मन्त्री यादव ।
एसियाली डेभलपमेन्ट बैक को ऋण सहयोगमा सन २०२४ देखि सुरु हुने आयोजना मेलम्ची फेज २ बाट थप ३४ करोड लिटर पानी दैनिक काठमाडौं सुन्दरीजल पुग्नेछ ।
हेलम्बु गाउँपालिका-१ अम्बाथानको अुनुगमनपछि मन्त्री यादवले यहाँका समस्याको समाधान गर्दै दिगो रुपमा काठमाडौंवासीलाई पानी खुवाउने सरकारको योजना रहेको र सोही अनुसार सम्पूर्ण जनशक्ति परिचालन भएको जानकारी दिनुभयो ।
अनुगमनका क्रममा सिनियर डिभिजनल इञ्जिनीयर पदमबहादुर कुँवरले बाढीले पुर्याएको क्षतिको यकीन भइनसकेकाले कति दिनभित्रमा पानी काठमाडौँ पुग्छ भनेर भन्न नसकिने बताउनु भयो ।
‘काठमाडौँ पानी कति दिनमा पुर्याउन सकिन्छ भनेर ठ्याक्कै भन्न त सकिँदैन तर हामीले युद्धस्तरमा काम गरेका छौं, आशा गरौँ एक महिनाभित्र पानी काठमाडौँ पुग्छ,’ उहांले भन्नु भयो ।
हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले काठमाडौँमा पानी पठाउनका लागि स्थानीय सरकारकातर्फबाट पूर्णरुपमा सहयोग भइरहेको बताए ।
‘मेलम्चीको पानी काठमाडौँ पठाउनका लागि स्थानीय सरकार पूर्णरुपमा सहयोग गरिरहेको छ, हाम्रा पनि केही माग भएकाले पटक पटक प्रधानमन्त्री तथा अन्य मन्त्रालयमा ज्ञापनपत्र बुझाएका छौँ, ती मागको सम्बोधन हुनुपर्छ,’ अध्यक्ष शेर्पाले भने ।
अनुगमनमा मन्त्रालयका सचिव राम आधार शाह, मन्त्रालयमा कर्मचारी, सुरक्षा निकायका प्रमुख, पत्रकार लगायतको सहभागिता रहेको सचिवालय सदस्य टंक धमलाले बताउनु भयो ।






