काठमाडौँ। चोभार सुक्खाबन्दरगाहको सञ्चालन र व्यवस्थापन निजी क्षेत्रबाट मंसिरको अन्तिम देखि सञ्चालन र व्यवस्थापन गरिने भएको छ।
खुल्ला प्रतिस्पर्धाबाट छनोट भएको ट्रान्स नेपाल फ्रेट सर्भिसेज जेभीले मंसिरको २९ गतेदेखि बन्दरगाह सञ्चालन र व्यवस्थापनको काम गर्ने भएको छ।
जेभीले आगामी पाँच वर्षसम्म सुख्खाबन्दरगाह सञ्चालन र व्यवस्थापकीय जिम्मेवारी निर्वाह गर्नेछ। जेभीले सो बन्दरगाह सञ्चालन गरेबापत नेपाल सरकारलाई पाँच वर्षको अवधिमा २ करोड ८८ लाख रकम न्यूनतम पट्टा पट्टा बहाल र नियमानुसार महसुल बुझाउनुपर्नेछ।
नेपाल इन्टरमोडल यातायात विकास समिति र ट्रान्स नेपाल फ्रेट सर्भिसेज जेभीबिच सोमबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ।
समितिको टर्मिनल पट्टाबहालमा दिने सम्बन्धी नियमावली, २०७० बमोजिम समिति र उक्त कम्पनी बिच सोमबार भएको सम्झौता अनुसार २०८० को मंसिर २९ गतेदेखि चोभार सुक्खा बन्दरगाहको सञ्चालन तथा व्यवस्थापन सो कम्पनीले गर्नेछ।
उक्त करार सम्झौतामा समितिका कार्यकारी निर्देशक आशिष गजुरेलको उपस्थितिमा निर्देशक युवक डंगोल तथा सञ्चालक कम्पनीको तर्फबाट मेनेजिंग डाइरेक्टर मुकेश कुमार राठीले हस्ताक्षर गरेका छन्।
नेपाल इन्टरमोडल यातायात विकास समिति (गठन) आदेश, २०५४ बमोजिम समिति एक नियामक निकायको रुपमा रहेकोले समिति अन्तर्गत रहेका टर्मिनल (सुक्खा बन्दरगाह र एकीकृत जाँच चौकी रकन्टेनर फ्रेट स्टेशन) हरुको सञ्चालन तथा व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय स्तरको बोलपत्रको माध्यमबाट निजी क्षेत्रको योग्य सञ्चालक कम्पनी छनौट गर्ने नीति भए अनुरुप समितिले गत साउन ८ गते अन्तर्राष्ट्रिय स्तरको प्रस्ताव (बोलपत्र) आव्हान गरेकोमा दुई वटा कम्पनीहरुले प्रतिस्पर्धामा भाग लिएका थिए।
बोलपत्र प्रक्रियामा ट्रान्स नेपाल फ्रेट सर्भिसेज जेभी र न्यू नेपाल ढुवानी सेवाले प्रतिस्पर्धा गरेका थिए। कार्यकारी निर्देशकले चोभार सुक्खा बन्दरगाह सञ्चालन सुरु भएको करिब २० महिनाको अवधिमा आउँदा व्यापारिक प्रयोगमा वृद्धि भइरहेको र उक्त सुक्खा बन्दरगाह निजी क्षेत्रलाई सञ्चालन तथा व्यवस्थापनको लागि दिँदा यसको प्रभावकारी सञ्चालन एवम् व्यवस्थापनले नेपाल सरकारलाई प्राप्त हुने राजश्वमा तुलनात्मक रुपमा वृद्धि हुने अवस्था देखिएको बताए।
उनले सुक्खा बन्दरगाह पूर्ण क्षमतामा सञ्चालनमा ल्याउनको लागि नेपाल सरकारको तर्फबाट निकायगत रुपमा गर्नु पर्ने कार्यहरुका लागि आवश्यक पहल एवं निकायगत समन्वयको भूमिकाका लागि समितिबाट उन्नत स्तरको प्रभावकारी समन्वय हुने विश्वास व्यक्त गरे। ‘
चोभार सुक्खा बन्दरगाहलाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउनको लागि बल्खु -दक्षिणकाली सडक खण्डको कीर्तिपुर स्थित ल्याबोरेटरी उच्च माध्यमिक विद्यालयको मुख्यद्वारदेखि चोभार सुक्खा बन्दरगाहसम्मकोसडक चौडा गरी चार लेनको बनाउने कार्य र निजगढ–काठमाडौँ द्रुतमार्गको कार्य चाँडो सम्पन्न गर्न अत्यावश्यक रहेको भनी नेपाल सरकारसँग अनुरोध गर्दै आइरहेको छौं,’ उनले भने।
कार्यकारी निर्देशक श्री गजुरेलले नेपाल सरकारको आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यमा यस समितिलाई खारेज गर्ने भनी गरिएको घोषणा फिर्ता लिन नेपाल सरकारसमक्ष अनुरोध गरिएको कुरा समेत जानकारी गराउँदै सञ्चालक कम्पनीलाई ढुक्क भई सुक्खा बन्दरगाह सञ्चालन गर्न अनुरोध गरे।
सञ्चालक कम्पनीको तर्फबाट मेनेजिंग डाइरेक्टर मुकेश कुमार राठीले सुक्खा बन्दरगाहहरुको प्रभावकारी सञ्चालन तथा व्यवस्थापनमा नेपाल इन्टरमोडल यातायात विकास समिति लगायत अन्य सरकारी तथा सरोकारवाला निकायबाट विगतमा प्राप्त गरेको साथ र सहयोग आगामी दिनहरुमा समेत प्राप्त हुने आशाका साथ सो सुक्खा बन्दरगाहलाई व्यवस्थित ढंगले सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे।




