काठमाडौँ। मेलम्ची खानेपानी आयोजनाको निर्माण सुरु भएकै दुई दशक बढी भयो । यो अवधिमा न यसको निर्माण कार्य पूरा हुन सक्यो, न त उपत्यकावासीले नियमित रूपमा मेलम्चीको पानी उपभोग गर्न पाएका नै छन् । ०७७ चैतमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भृकुटीमण्डपमा बनाइएको धारा खोलेर मेलम्चीको पानी उद्घाटन गरेका थिए । उद्घाटनपछि अब उपत्यकावासीले पानीका लागि दुःख गर्न पर्दैन भन्ने थियो ।
त्यसो त राष्ट्रिय गौरवको यो आयोजनाको प्रथम चरणको प्रायः निर्माण कार्य सम्पन्न भई घरघरमा पानी वितरण भएकामा खुसी लागेको कुरा पूर्वराष्ट्रपति भण्डारीले त्यो बेलै बताएकी थिइन् । तर उनले भनेजस्तो उपत्यकावासीका लागि त्यो खुसी धेरै दिन टिक्न पाएन । ०७७ चैतबाट पानी वितरण गर्न थालिए पनि पटक–पटक मेलम्चीमा आएको बाढीका कारण अवरुद्ध हुँदै आएको छ ।
अहिले ०८० असारयता काठमाडौंमा पानी वितरण ठप्प छ । बाढीले मुहान पुरेपछि मेलम्चीको पानी काठमाडौं आएको छैन । पानीको अभाव खड्किएपछि अहिले उपत्यकावासी मेलम्चीको पानी कहिले आउला भनेर कुरेर बसेका छन् । तर पानी कहिले आउँछ भन्नेबारे अन्योल भने कायमै छ ।
कहिलेसम्म मेलम्चीको पानी उपत्यकाभित्र नियमित वितरण गर्न सकिन्छ भन्नेबारे निश्चित नभएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताए । ‘परामर्शदाताको प्रारम्भिक अनुसन्धानअनुसार यो तुरुन्तै हुने काम होइन, उपत्यकाका लागि पानी पथान्तरणका लागि बनाइएको सुरुङभित्र ढुंगा, बालुवा के–कति जम्मा भएको छ, हेरेर सफा गर्न समय लाग्छ, जसले गर्दा पानी ल्याउन अझै अनिश्चित छ,’ उनले भने, ‘मुहानमा पुगेर के–कति समस्या छन् भनी हेर्ने काम भइरहेको छ ।’ उनका अनुसार अस्थायी संरचना बनाएर पानी ल्याइने छ । पछि दिगो संरचना बनाइने उनको भनाइ छ । त्यसका लागि थप चार वर्ष र चार अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले सार्वजनिक रूपमा मेलम्चीको पानी उपत्यकामा ल्याई वितरण गर्ने प्रतिबद्धता जनाएपछि मेलम्ची आयोजनाले थप महत्त्व र चर्चा पाएको थियो । मेलम्ची खानेपानी विकास समिति भने ०५५/५६ सालमा स्थापना भएको हो । आयोजना निर्माणमा अहिलेसम्म ६१ अर्ब रुपैयाँ खर्च भइसकेको छ । तर पछिल्लो केही वर्षयता बाढीका कारण आयोजनाले गति लिन सकेको छैन । गत असारमा आएको बाढीका कारण मुहान पुरियो । निर्माण गरिसकेका संरचनामा बाढीले क्षति पुर्याएपछि मुहानसम्म पुग्न लामो समय लाग्यो ।
गत आर्थिक वर्षमा करिब ७ करोड रुपैयाँ खर्चेर मर्मत गरिएको हेडवर्क्सस्थित पानी पठाउने सुरुङको मुखमा गेग्रानको थुप्रो लागेको छ । मेलम्चीबाट सुन्दरीजलसम्म २६.५ किलोमिटर सुरुङ बनाएर पानी ल्याउने व्यवस्था गरिएको छ । ‘असारमा ठूलो बाढी आएर सबै संरचना पुरिएको थियो, मुहानसम्म पुग्ने सडक बाढीले बगाएको थियो,’ उनले भने, ‘अहिले सबै संरचना तयार पार्दै सफा गरेर पानी ल्याउने तयारी भइरहेको छ,’ अस्थायी रूपमा बाटो बनाएर हेडवर्क्स भएको ठाउँमा पुगेको प्रवक्ता पन्तले बताए । मुख्य सुरुङमा पाइपबाट पानी पठाइएको छ । ‘त्यो पाइप पनि जाम भएको भए खोल्न समय लाग्नेछ,’ उनले भने, ‘जुन गेटबाट पानी पठाएको हो, त्यो पनि पुरिएको छ ।’ त्यो गेटको निरीक्षण गर्न खोला अर्कोतिर फर्काउनुपर्ने भएकाले फर्काउने काम भइरहेको उनले बताए । ‘धेरै प्राविधिक कठिनाइ छ,’ उनले भने, ‘त्यहाँ पुगेर काम गरिँदै छ ।’
सुरुमा ०७७ चैतदेखि ०७८ जेठ ३१ सम्म काठमाडौंमा मेलम्चीको पानी वितरण गरियो । फेरि ०७८ असार १ मा बाढी आएर मुहानमा क्षति पुगेपछि वितरण रोकियो । ०७८ चैत २९ देखि ०७९ जेठ १८ सम्म पानी आएको प्रवक्ता पन्तले बताए । जेठ १९ पछि धमिलो पानी आउने भएकाले बन्द गरिएको उनको भनाइ छ । ‘०७९ मंसिर १८ देखि ०८० असार ७ सम्म पानी आयो,’ उनले भने, ‘त्यसपछि बाढी आएसँगै पानी आउन पनि बन्द भयो ।’ अहिले पानी ल्याउने गरी प्रयास भइरहेको उनले सुनाए ।
सुरुमा हेडवर्क्स (पानी डाइभर्सन गर्ने संरचना) निर्माणको ठेक्का चिनियाँ कम्पनी सिनो हाइड्रोलाई सन् २०१९ अक्टोबरमा २०२० जनवरीभित्र सक्ने गरी ठेक्का दिइयो । तर त्यो अवधिमा काम सकिएन । सन् २०२१ जुनमा बाढी आएपछि थप काम हुन सकेन । सिनोलाई नै तत्काल भेरिएसन (थप लागत) बाट काम गराउन मन्त्रिपरिषद्बाट निर्णय भएपछि उसैबाट काम गराउन भनिएको हो । ‘बर्खायामपछि बाढीले पुरेका संरचना सफा गर्नुपर्छ भन्दै सुरुकै ठेक्कामा भेरिएसन गरेर थप काम दिइएको हो,’ उनले भने, ‘ठेक्का सुरुकै हो, सुरुको ठेक्का १ अर्ब २ करोड र पछि भेरिएसनबाट ३६ करोड रुपैयाँ थप भएको हो ।’ तर पटक–पटक ताकेता गर्दा पनि कामको जिम्मा लिएको कम्पनी नआएको उनको भनाइ छ ।
उनका अनुसार मेलम्ची खानेपानी विकास समितिको जिम्मेवारी हेडवर्क्स, सुरुङ निर्माण र सुन्दरीजलमा पानी प्रशोधन गर्ने हो । अहिलेसम्म समितिमार्फत भएका काममा ३१ अर्ब रुपैयाँ खर्च भइसकेको छ । ‘यसमा प्रशासनिक, डिजाइन, सडक निर्माण र सुधार गरेको खर्च पर्छ,’ उनले भने, ‘हामीले काठमाडौं उपत्यकामा पानी ल्याइसकेपछि त्यसलाई आवश्यक संरचना बनाएर वितरण गर्ने काम मेलम्ची उपआयोजना–२ ले गर्छ, जुन काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) अन्तर्गत हुन्छ ।’ उपआयोजनाअन्तर्गत पनि ३० अर्ब रुपैयाँ खर्च भएको उनको भनाइ छ ।
पहिलो चरणमा मेलम्ची नदीबाट डाइभर्सन गरेर पानी ल्याइनेछ । दोस्रो र तेस्रो चरणमा यांग्री र लार्के खोलाबाट थप १७/१७ करोड लिटर पानी ल्याइनेछ । जसअनुसार तीन चरण गरेर ५१ करोड लिटर पानी काठमाडौं आउनेछ । केयूकेएलको सेवाभित्र उपत्यकाका तीन जिल्लामा २ लाख ५६ हजार धारा छन् । त्यही धारामा मेलम्चीको पानी उपलब्ध गराइनेछ । ‘सुरुको अवधारणाअनुसार मेलम्ची, यांग्री र लार्केबाट पानी ल्याउन सकिए सन् २०३५ सम्म काठमाडौं उपत्यकामा पानीको माग व्यवस्थापन गर्न सकिन्छ भन्ने थियो,’ प्रवक्ता पन्तले भने ।
त्यसो त अहिले भइरहेको मुहानमा फेरि पनि बाढीको जोखिम रहने भएकाले एसियाली विकास बैंक (एडीबीले) अध्ययन गरेर मुहान नै सार्न सुझाव दिएको छ । ‘स्थायी समस्या समाधानका लागि समय र लागत बढी लाग्नेछ, अहिलेसम्म अनुमान गरिएको समय चार वर्ष र लागत चार अर्ब लाग्ने देखिन्छ,’ उनले भने, ‘अहिले भएका संरचना अझै हेर्न जरुरी छ, जमिनमुनिको सतह कमजोर भए थप संरचना बनाउन नसकिने हुन्छ ।’
एडीबीको अध्ययनले भेमाथानदेखि तलसम्म सबै ठाउँ हेरेर यही बीचमा मुहान बनाउन उपयुक्त हुन्छ भन्ने सुझाव आएको उनले सुनाए । ‘भेमाथानबाट हेडवर्क्ससम्म पूरै अध्ययन भएको छ, जसअनुसार तीन ठाउँमा मुहान राख्न सुझाव दिइएकामा सर्कथली उपयुक्त भनेर सिफारिस गरिएको छ,’ उनले भने, ‘जुन ठाउँ अहिले रहेको मुहानबाट ७/८ सय मिटर माथि हो ।’ अहिले ठाउँ मात्र थाहा भएको उनले बताए । उपयुक्त भनिएको ठाउँको फेरि अध्ययन हुनेछ । बाढीले अम्बाथानस्थित मुहानको मुख्य अडिट पुरिएको छ । त्यो पनि सफा गर्नुपर्नेछ ।
निर्माण कम्पनी सिनोसँगको सम्झौता यही ०८० पुस १५ सम्म मात्र छ । म्याद थप गर्ने कि ठेक्का तोड्ने भन्नेबारेमा कुनै निर्णय भएको छैन । गत वर्ष काम गरेको संरचनामा क्षति भएकाले त्यसबापत आउने बिमा रकम भएकाले त्यसैबाट मर्मत गर्न सकिने समितिको भनाइ छ । ठेकेदारकै कारण काममा ढिलाइ भइरहेको खानेपानीमन्त्री महिन्द्र राय यादवले बताए । ‘परामर्शदाताले ठेक्का लिने कम्पनीलाई काम गर्ने/नगर्ने भनेर चिठी लेखेर पठाएको छ, त्यसको जवाफ आइसकेको छैन,’ उनले भने, ‘अब ढिलाइ हुने छैन, चिठीको जवाफ पर्खिएर बसेका छौं, ठेकेदारले काम नगरे उपभोक्तामार्फत काम अघि बढाउने छौं ।’
ठेकेदारको प्राविधिक पाटोको काम गर्न बाँकी छ । उनका अनुसार अहिले काम सुरु छ । ‘बाटो बनेको छ, खोलो फर्काउने काम भइरहेको छ,’ उनले भने, ‘ठेकेदारले काम गर्ने/नगर्नेबारे चाँडै टुंग्याएर पानी ल्याउनेछौं ।’ परामर्शदाता भने इटालियन कम्पनी आईआरडी र नेपाली ईआरएमसी रहेको समितिले जनाएको छ ।
उपत्यकामा काठमाडौं, ललितपुर र भक्तपुरमा दैनिक ४७ करोड लिटर पानीको माग रहेको केयूकेएलका सूचना अधिकारी प्रकाशकुमार राईले बताए । ‘मेलम्चीबाट पानी आउँदा दैनिक वितरण गरिरहेका थियौं,’ उनले भने, ‘अहिले नआउँदा दिन बिराएर ९ देखि १० करोड लिटर पानी मात्र वितरण गरिरहेका छौं ।’ अहिले सुक्खा समय हो । पहिला दैनिक मेलम्चीबाट १७ करोड लिटर पानी आउँथ्यो ।
‘हामीसँग भएको १० करोडसहित २७ करोड लिटर वितरण हुन्थ्यो, यो हुँदा माग भएको ४७ करोडमा दिन बिराएर वितरण गर्न सकिन्थ्यो,’ उनले भने, ‘त्यसो गर्न सके पानीको समस्या हुने थिएन तर अहिले एकदमै कठिन अवस्थामा छौं, बर्खाको समयमा मेलम्चीबाहेक १६/१७ करोड लिटर हामीसँग हुन्छ ।’ हिउँदमा ९/१० करोड हुन्छ । ‘अहिले भूमिगत सुन्दरीजल, शिवपुरी मुहान, दक्षिणकालीको शेषनारायण क्षेत्र, भक्तपुरको महादेव खोलाको मुहानबाट पानी ल्याएर वितरण गरिएको छ,’ उनले भने, ‘तर मागअनुसार उपभोक्तालाई पानी दिन सकिएको छैन ।’




