वीरगन्ज । व्यापारीले तेस्रो मुलुकबाट आयात हुने सामानको गलत घोषणा गरि परिमाणात्मक बन्देज लगाइएका सुपारी र पोस्तादाना भित्र्याउने गरेको पाइएको छ । वीरगन्जको सिर्सिया सुक्खा बन्दरगाहमा विगत ५ वर्षदेखि जाँचपास नगराई थन्काइएका कन्टेनरहरुको भौतिक परीक्षण थाल्दा व्यापारीले मासको दाल घोषणा गरेका कन्टेनरमा सुपारी र पोस्तादान बरामद भएको हो ।
सुक्खा बन्दरगाह भन्सार कार्यालयकाअनुसार हालसम्म ६ वटा कन्टेनरभित्र सुपारी र दुईवटा कन्टेनर भित्र पोस्तादाना राखिएको फेला परेको छ ।
४० फिटे कन्टेनरको आधा भागमा मासको दाल र आधा भागमा घोषणा नगरिएका वस्तु राखिएका छन् । ‘मासको दालको बोराभित्र सुपारीको बोरा राखेर सिलाएको फेला परेको छ,’ प्रमुख भन्सार अधिकृत रामप्रसाद मैनालीले भने, ‘कन्टेनरको अगाडि पट्टि आधा भागसम्म घोषण गरे बमोजिम सामान राखिएको छ, भित्र पट्टि आधा भागमा सुपारी र पोस्तादाना राखिएका छन्।’
प्रत्येक बोरा खोलेर जाँचपास गर्ने अवस्था नभएकाले व्यापारीले लुकाएर सामान भित्र्याउने गरेका छन् । लामो समयदेखि बन्दरगाह यार्डमा राखिएका २ सय १८ वटा कन्टेनरको मंसिर अन्तिम सातादेखि भन्सार कार्यालयले भौतिक परीक्षण थालेको हो ।
हालसम्म १ सय ९० वटा कन्टेनरको भौतिक परीक्षण सम्पन्न भएको छ । प्रमुख भन्सार अधिकृत मैनालीकाअनुसार भौतिक परीक्षण गरिएका कन्टेनरहरुमा ६० देखि ७० प्रतिशतमा सडेको छोकडा र केराउ बरामद भएको छ ।
परिमाणात्मक बन्देज लागेको अवस्थामा व्यापारीले भित्र्याएका वस्तु पछि कोटा प्रणाली खारेज भएपछि जाँचपास गराउने उद्देश्यले आयात गरेको हुन सक्ने कर्मचारी बताउँछन् ।
‘यता कोटा प्रणाली पनि खारेज भएन, उता कन्टेनरको बिलम्ब शुल्क समेत वृद्धि हुँदै गयो,’ ती कर्मचारी भन्छन्, ‘अनि व्यापारीले भन्सार यार्डमै कन्टेनर अलपत्र छाडेको हुनसक्छ ।’
बरामद भएका ७० प्रतिशत सामान नष्ट गर्ने प्रकृत्तिका रहेको भन्सार कार्यालयले जनाएको छ । करिब ५ करोड मूल्य बराबरको सामान लिलाम गर्न सकिने अवस्थामा रहेका छन् । पीभीसी फ्लोरिङ, इलेक्ट्रिक बाइक, इलेक्ट्रिक स्कुटर, दाल, सुपाडी लगायतका वस्तु लिलाम गरिने भन्सारले जनाएको छ ।
उपभोग्य वस्तुको परीक्षण गरी लिलाम प्रक्रियामा लैजाने र सडेका वस्तुलाई नष्ट गरिने प्रमुख भन्सार अधिकृत मैनालीले जनाए ।
भन्सार विभागका कर्मचारी, वीरगन्ज उद्योग वाणिज्य संघका प्रतिनिधी, प्रशासन, कोलिनिका, सुक्खा बन्दरगाह भन्सार कार्यालयका कर्मचारी, यार्डको व्यवस्थापनको जिम्मा पाएको प्रिस्टीन भ्याली, क्वारेन्टाइन लगाइका सरोकारवाला निकायको उपस्थितीमा कन्टेनर भौतिक परीक्षण गरि मुचुल्का उठाउने काम भइरहेको छ ।
मुचुल्कापछि भन्सारको शिल लगाएर कन्टेनर प्रिस्टीनको जिम्मा लगाउने गरिएको छ । सिमित जनशक्तिका कारण २ सय १८ वटा कन्टेनरको भौतिक परीक्षणमा समय लाग्ने भएकाले भन्सार कार्यालयले विभागलाई पत्राचार गरी थप कर्मचारी माग गरेको थियो ।
विभागले कन्टेनरको भौतिक परीक्षणका लागि ४ जना कर्मचारी पठाएको छ । सुक्खा बन्दरगाह यार्डमा विगत ५ वर्षदेखिसम्मका कन्टेनरहरु जाँचपास नगराई आयातकर्ताले राखेका थिए । लामो समयदेखि विभिन्न सिपिङ कम्पनीका कन्टेनरहरु बन्दरगाह यार्डमा थन्किँदा नकारात्मक छबि बनेको वीरगन्ज उद्योग वाणिज्य संघका एक पदाधिकारीले बताए ।




