दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले थारु, मगर र जनजातिले घरमा उत्पादन गर्ने घरेलु जाँड र रक्सीलाई नष्ट गर्न नपाइने बताएका छन् । प्रहरीले घरेलु मदिरालाई बिक्री वितरणमा निषेध गर्दै त्यस्तो पाइएमा घोप्टाइदिने, फालिदिने गरेकोप्रति लक्षित गर्दै मुख्यमन्त्री चौधरीले अब कसैले त्यस्तो गरेको पाइएमा प्रदेश सरकारले कारबाही गर्ने बताए ।
उनले जाँड, रक्सीलाई ब्रान्डिङ गरेर बेच्नको लागि प्रदेश सरकारबाट बजेट नै विनियोजन गरिएको बताए । ‘थारु र मगरले बनाउने जाँड, रक्सीलाई घोप्टाउने र विदेशी रक्सी फोरेर यो देश समृद्ध बन्न सक्दैन,’ नेपाल मगर संघले शनिबार दाङको देउखुरीमा गरेको बृहत् मगरसभालाई सम्बोधन गर्दै चौधरीले भने, ‘कोदो, मैवा, अनादी लगायतको रक्सीलाई ब्रान्डिङ गर्ने हो, यो कसैले रोक्न सक्दैन । बजेट छुट्याएरै प्रदेश सरकार अगाडि बढिसकेको छ ।’
स्थानीय खानपानलाई ब्रान्डिङ गरेर स्वदेशको बजार र संसारभर पुर्याउन सके त्यसैको माध्यमबाट आर्थिक समृद्धि आउन सक्ने उनको भनाइ छ । मुख्यमन्त्री चौधरीले रुपन्देही, रोल्पा र पाल्पालाई मगर क्षेत्र र दाङ, बाँके, बर्दियालाई थारु क्षेत्र घोषणा गरेरै उत्पादन र ब्रान्डिङ गर्ने सरकारको योजना रहेको बताए । उनले लुम्बिनीमात्रै नभएर नेपालकै खानपानलाई बाहिर बेच्नुपर्ने बताए । नेपाल मगर संघले लुम्बिनी प्रदेशमा मगर र थारु भाषालाई सरकारी कामकाजको भाषा घोषणा गर्न माग गरेको छ । त्यस्तै, धर्मनिरपेक्षता, संघीयता, गणतन्त्र र लोकतन्त्र माथिको षड्यन्त्रपूर्वक आक्रमणप्रति खबरदारीसमेत गरेको छ ।




