• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, भदौ १८, २०८३
☰
बिहिबार, भदौ १८, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

मान्छेको मूल्य १० लाख हो ? – गृहमन्त्रीलाई प्रश्न


  •   मङ्गलबार, पुष १७, २०८० मा प्रकाशित
  • काठमाडौं । निर्धारित समयभन्दा आधा घण्टा ढिला गरी सुरु भएको सोमबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक ६ बुँदे निर्देशन जारी गरेर सकियो ।

    Advertisement

    बैठकले पुस १३ गते ललितपुरको बालकुमारीमा दुईजना युवाको ज्यान जाने गरी भएको घटनाबारे श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालामाथि छानबिन गर्न निर्देशन दिएको छ ।

    पुस १३ गते रोजगारी अनुमति प्रणाली (ईपीएस) को परीक्षा दिन पाउनुपर्ने माग राखेर बालकुमारीमा युवाहरूले प्रदर्शन गरेका थिए । पानीजहाज निर्माणतर्फको परीक्षामा सहभागी भएका तर पास हुन नसकेका विद्यार्थीहरू प्रदर्शनमा थिए । उनीहरूको माग थियो– उत्पादनतर्फको परीक्षामा पनि हामी सहभागी हुन पाउनुपर्छ ।

    प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला चढेको गाडीमा आगो लगाइदिए । त्यसपछि पनि प्रदर्शन नरोकिएपछि प्रहरीले गोली चलायो, दुई युवाले ज्यान गुमाए ।

    यसै विषयमा छलफल गर्न सोमबार बिहान ८ः३० बजेका लागि कानुन समितिको हलमा समितिको बैठक बोलाइएको थियो । बैठकमा घटनाबारे जानकारी र छलफलका लागि उपप्रधानमन्त्रीसमेत रहेका गृहमन्त्री नारायणकाजी श्रेष्ठ, प्रहरी प्रमुख वसन्त कुँवर, शसस्त्र प्रमुख राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखको पनि उपस्थिति थियो ।

    बैठकमा समितिका सदस्यहरू आक्रामकरूपमा प्रस्तुत भएका थिए । कतिपय सदस्यले गृहमन्त्रीको राजीनामा नै मागे । तर, राजीनामा विषयमा गृहमन्त्रीले जवाफ नै दिएनन् ।

    प्रहरी प्रमुख कुँवरले भने ‘भौतिक पूर्वाधारमन्त्री सवार गाडी त्यहाँ नपुगेको र गाडीबाट ओर्लिएर मन्त्रीसँग सामान्य विवाद नभएको भए घटना नहुन सक्ने’ धारणा राखे । उनले भीआईपी सवारी भएको र मन्त्रीको ज्यान तलमाथि पर्छ भनेर आफूहरूले बल प्रयोग गर्नुपरेको धारणा राखे ।

    “उक्त दिन मन्त्रीको गाडी त्यहाँ नपुगेको भए यो घटना हुने थिएन होला । उपत्यकामा भीआईपी सवारी र मन्त्रीमाथि यस्तो घटना भयो भनेर सन्देश राम्रो जाँदैन भनेर हामी खटियौँ । मन्त्रीको ज्यान तलमाथि पर्ने देखिएपछि प्रहरी बल प्रयोग गर्न बाध्य भयो,” कुँवरले बैठकमा भने ।

    अझै आएन गोली प्रहारको यथार्थ

    गोली कसले चलायो भन्नेबारे प्रहरी प्रशासन र गृह मन्त्रालय नै बेखबर छन् । बैठकमा सुरक्षा प्रशासन र स्वयं गृहमन्त्री श्रेष्ठले कहाँबाट गोली चल्यो भन्ने विषयमा अझै यकिन जानकारी नआएको स्वीकार गरे ।

    गृहमन्त्री श्रेष्ठले पुस १३ गतेको आन्दोलन पनि नियमित नै भएको बताए । भाषा परीक्षामा सहभागी हुन पाउनुपर्ने माग राखेर युवाहरूले अघिल्ला दिनहरू पनि प्रदर्शन गरेको उनको भनाइ छ । युवाहरूले मंसिर अन्तिमबाटै बालकुमारी क्षेत्रमा आन्दोलन गरिरहेको जानकारी आफूलाई भएको बताए ।

    मन्त्री श्रेष्ठका अनुसार आन्दोलनबारे मन्त्रालयको सुरक्षा शाखा प्रमुख र प्रवक्ताले ईपीएस शाखा प्रमुखलाई बोलाएर बुझ्दा उनले ‘युवाहरू १० बजे आउँछन् र ३ बजेसम्म धर्ना बसेर जान्छन् । धेरै तनाव र चिन्ता लिनुपर्दैन’ भनेर हल्का प्रतिक्रिया दिएका थिए ।

    सबै जानकारी हुँदाहुँदै मन्त्री ज्वालाले पुस १३ बालकुमारीको बाटो प्रयोग गरेको विषयमा आफूहरू नै अचम्ममा परेको गृहमन्त्रीको भनाइ छ ।

    “पीएसओले बाटोको जानकारी लिन्छ । तर, उक्त दिन पीएसओ र आर्मीको गार्डले सूचना किन दिएन होला ? घटना अर्कोतिर मोड्न क्याटलिस्ट गरेको देखिन्छ,” उनले बैठकमा भने ।

    गृह मन्त्रालयले गोली प्रहार नगर्न आदेश दिएको गृहमन्त्रीको दाबी छ । मंसिर ७ मा दुर्गा प्रसाईंले आन्दोलन गर्दा केही थान रबरको गोली हवाई फायर मात्र गरेको स्मरण गर्दै उनले बालकुमारी घटनामा गोली प्रहार गर्ने आदेश कतैबाट नगएको दाबी गरे ।

    जिल्ला सुरक्षा संयन्त्रलाई पनि थाहा नदिएर ‘कहाँबाट गोली प्रहार भयो’ भन्दै उनले अनभिज्ञता प्रकट गरे ।

    “मन्त्रीको गाडी पुगेपछि सवाल–जवाफ भयो । अलिकति धकेला धकेल पनि भयो । मन्त्रीलाई त्यहाँबाट निकालेर आर्मीको बडी गार्डले उहाँलाई सुरक्षित स्थानतर्फ लग्यो,” मन्त्री श्रेष्ठले थपे, “मन्त्रीलाई घेरेको पुलिसलाई थाहा भएपछि गोली प्रहार भएको देखिन्छ । थप अनुसन्धानबाट थाहा हुन्छ । त्यसपछि उता गाडी जलेको देखिन्छ ।”

    घटना भएपछि सरकारले उच्च अदालतका पूर्वन्यायाधीश शेखर पौडेलको नेतृत्वमा पूर्वएआईजी अरूण बिसी र गृहको प्रतिनिधि राखेर न्यायिक छानबिन समिति गठन गरेको छ । मन्त्री श्रेष्ठले घटना भएको समयमा प्रधानमन्त्री प्रचण्ड दोलखाको कार्यक्रममा भएकाले समिति गठन गर्ने निर्णय गरिएको बताए । यो घटनालाई सामान्य रूपमा सरकारले नलिएको भनाइ उनको छ ।

    ‘हत्यारा सरकार’ भन्दै सांसदले राजीनामा

    बैठकमा बोल्दै सांसदहरूले मानिसको ज्यानको मूल्य १० लाख मात्र हो भन्दै आक्रोश पोखे । उनीहरूले जनताका लागि गणतन्त्र ल्याएको भने पनि जनतालाई मार्नुपर्ने हो भन्दै प्रश्न गरे ।

    सत्तासाझेदार दल नेपाली कांग्रेस सांसद अम्बिका न्यौपानेले मान्छेको मोल १० लाख मात्र हो भन्दै प्रश्न गरिन् ।

    युवाले रोजगारी माग्दा रोजगारी दिन नसक्ने, विदेश जान्छु भन्दा गोली हान्ने गृहमन्त्रीले गृह प्रशासन चलाउन नसक्ने सांसदहरूको आक्रोश थियो ।

    एमाले सांसद राजेन्द्र राईले गृहमन्त्री कुन नैतिकताका आधारमा पदमा बसेको भन्दै प्रश्न गरे । उनले शालीन गृहमन्त्रीसँग नैतिकता हुनुपर्ने भन्दै तत्काल राजीनामा दिनुपर्ने माग राखे । ठाउँको ठाउँ गोली हानेर भकाभक मान्छे मार्न पाइन्छ भन्ने प्रश्न उनको थियो ।

    “०८४ मा चुनाव आउँछ । यतिबेला नैतिकता देखाउनुभयो भने लोकले पनि पत्याउँछ । तपाईं शालीन हुनुहुन्छ, यसो गर्नुस् अब नैतिकता देखाएर राजीनामा दिनुस् । छानबिनमा सहयोग गर्नुस्,” राईले भने ।

    २०३० असारमा सिंहदबारमा आगलागी लाग्दा कीर्तिनिधि विष्ट, २०४४ मा दशरथ रंगशालामा हावा–हुन्डरीपछि भागदौड हुँदा केशरबहादुर विष्टले नैतिकता देखाएर राजीनामा दिएको प्रसंग निकाल्दै उनले गृहमन्त्री श्रेष्ठको राजीनामा माग गरे । गृहमन्त्रीले राजीनामा दिएमात्र मृतकको आत्माले शान्ति पाउने भनाइ उनको थियो ।

    राष्ट्रिय स्वतन्त्र पार्टी सांसद चन्दा भण्डारी कार्कीले राज्यले गरेको हत्या भएकाले गृहमन्त्रीले नैतिकता नदेखाएको बताइन् ।

    एमाले सांसद कृष्णगोपाल श्रेष्ठले वर्तमान सरकार निकम्मा, नालायक र असक्षम र हत्यारा भएको बताए ।

    “लाजसरम छैन ? यो सरकारले गरेको हत्या हो । नैतिक जिम्मेवारी सरकारले लिएर प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्छ । अर्को सरकारलाई छानबिन गर्ने बाटो दिनुपर्छ,” उनले भने ।

    पीएसओलाई मात्र कारबाही गरेर उम्कने सरकार ?

    बैठकमा सबै सांसदहरूले सरकारका सुरक्षा निकायमाथि प्रश्न गरेका थिए । भौतिक पूर्वाधारमन्त्री र श्रममन्त्रीलाई छानबिन गरेर कारबाहीको दायरमा ल्याउनुपर्ने माग उनीहरूको थियो ।

    कांग्रस सांसद सरिता प्रसाईंले ‘सरकारको गुप्तचर कहाँ गएको थियो ? पीएसओले बाटोको जानकारी किन लिएन ? मन्त्री किन त्यही बाटो हिँडेको ? भन्दै प्रश्नै प्रश्न गरिन् ।

    कांग्रेसका महामन्त्री समेत रहेका सांसद गगनकुमार थापाले बालकुमारी घटना मन्त्री ज्वालाको लापरबाहीका कारण भएको उल्लेख गरे । उनले आन्दोलनबारे थाहा हुँदाहुँदै त्यही बाटोबाट अगाडि बढ्नु लापरबाही र मन्त्रीको हेपाह प्रवृति भएको बताए । श्रम तथा रोजगारमन्त्रीको भूमिकामा प्रश्न उठाउँदै उनले समितिले यसतर्फ ध्यान दिनुपर्ने धारणा राखे ।

    राष्ट्रिय स्वतन्त्र पार्टी सभापतिसमेत रहेका सांसद रवि लामिछानेले समुन्द्रमा डुबेको टाइटानिक जहाज भेटिएला तर मन्त्रीमा नैतिकता नभेटिने’ भन्दै व्यंग्य गरे ।

    सांसद रघुजी पन्तले जनताको आक्रोश कम गर्न मात्र सरकारले कर्मचारीहरूलाई निलम्बन गरेको आरोप लगाए । बालकुमारी घटना निम्त्याउन श्रममन्त्री पनि उतिकै जिम्मेवार रहेको उनको भनाइ छ ।

    एमाले सांसद राजेन्द्र राईले पीएसओलाई कारबाही गर्नुभन्दा सचिव, आईजीपीलाई कारबाही गरेर देखाउन चुनौती दिए ।

    “तलका एउटा पीएसओ, डीएसपी सीडीओलाई मात्र के कारबाही गर्नुहुन्छ ? सचिव, आईजीपीलाई कारबाही गर्नुहोस् न,” राईले गृहमन्त्री श्रेष्ठलाई चुनौती दिए ।

    रविलाई गृहमन्त्रीको जवाफ– आफू पनि पर्छु कि भनेर हो ?

    बैठकमा गृहमन्त्री श्रेष्ठ र रास्वपाका सभापति लामिछानेबीच घोचपेच नै भयो । रविले बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणमा छानबिन गर्ने प्रहरीहरूलाई सरुवा गरिएको भन्दै श्रेष्ठको इमानमा प्रश्न उठाएका थिए । रविले सुन प्रकरणमा आफूले दिएका सूचनामा समेत गृहमन्त्रीले काम नगरेको आरोप लगाएका थिए ।

    “…सामानको तस्बिर पठाएको प्रमाण तपाईंलाई बुझाउँदा पनि तपाईंले कुनै पनि कारबाही गर्नुभएन । त्यसलाई डिसमिस गर्नतिर लाग्नुभयो । सिंगो कनेक्सनमा तपाईंको प्रभाव तपाईंको सक्रियता जोगाउनेतिर लाग्नुभयो,” रविको प्रश्न थियो ।

    जवाफमा श्रेष्ठले रविले कुरा फेरेको बताए । सुन प्रकरणबारे सुरुमा न्यायिक समिति गठन गर भन्ने र गठन भइसकेपछि आफूलाई धन्यवाद दिन आउने रवि नै भएको श्रेष्ठले बताए । रविले दिएको प्रमाण र दुईजना मान्छेहरूका बारेमा छानबिन चलिरहेको भन्दै उनले एकजना फरारको सूचीमा रहेको र अर्का एकजनाबारे छानबिन चलिरहेको बताए ।

    गृहमन्त्री श्रेष्ठले रवि आफैँलाई केही पर्छ कि भनेर पहिल्यै प्रतिक्रियात्मक बनेको प्रतिक्रिया दिए ।

    “मलाइ केही पर्छ कि क्या हो । त्यही भएर भन्दिहालौँ जस्तो पो लाग्छ कि मान्छेहरूलाई । आफूले पहिले गरेको गल्तीमा कुनै कारणले कानुनी छुट पाए भन्दैमा पछाडि पनि त्यस्तै हुन्छ भनेर आरोप लगाउन भएन । दोष छ भने कारबाही गर्न सकिन्छ । प्रतिशोध साध्न सकिन्न,” श्रेष्ठले भने, “केही गर्ला कि भनेर पहिल्यै खुट्टा उचालेपछि भाग्न पाइन्छ कि भन्ने हुन्न । खुट्टा उचाले पनि समाइन्छ । त्यसो गरेर त हुन्न नि !”

    समितिको निर्देशनमा के छ ?

    – पुस १३ गते शुक्रबार भएको ईपीएस भाषा परीक्षाको विषयलाई लिएर भएको प्रदर्शनमा दुई जनाको मृत्यु भएको घटनामा मृत्यु भएका परिवारलाई थप राहत दिन नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई निर्देशन दिने ।

    – दुवै मृतकका परिवारलाई रोजगारीको अवसर दिन नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिने ।

    – घटनासँग सम्बन्धित साना दर्जाको प्रहरी तथा कर्मचारीलाई मात्र निलम्बन र सरुवा गरी समस्याको समाधान नगर्न र काम गर्नेको मनोवल नगिर्ने गरी न्यायोचित समाधान गर्न नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई निर्देशन दिने ।

    – उक्त घटना घट्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री र मन्त्रालयको भूमिकाबारे पनि छानबिन गर्न निर्देशन दिने ।

    – यस प्रकारको घट्ना अब आइन्दा नहोस् भनी सम्बन्धित सबै पक्ष सजग रहन नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई निर्देशन दिने ।

    – सुरक्षा निकायलाई आवश्यक स्रोत साधन पर्याप्त उपलब्ध गराउन नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय र अर्थ मन्त्रालयलाई निर्देशन दिने ।

    मङ्गलबार, पुष १७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer