सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय (एमयू) का परीक्षा व्यवस्थापन प्रमुखसहित ६ जना निलम्बित भएका छन् ।
प्रश्नपत्र आउट गरेको आरोपमा उनीहरुलाई निलम्बन गरिएको हो । ग्य्राजुएट स्कुल अफ इन्जिनियरिङतर्फ स्नातक तह छैटौँ सेमेस्टारको डिजाइन अफ स्ट्रक्चर विषयको परीक्षाको प्रश्नपत्र परीक्षा सञ्चालन हुनुभन्दा पहिलै लिग भएको थियो । पुस ३ गतेबाट सञ्चालन हुने भनिएको उक्त परीक्षा विद्यार्थीले आन्दोलन गरेपछि रद्द गरिएको थियो । प्रश्नपत्र नै बाहिरिएपछि परीक्षा व्यवस्थापन प्रमुख नगेन्द्रप्रकाश साउदसहित ६ जनालाई कारबाही स्वरूप निलम्बन गरिएको उपकुलपति प्राध्यापक डा. नन्दबहादुर सिंहले बताए ।
उनीहरुको ठाउँमा नयाँलाई जिम्मेवारी दिएको उपकुलपति सिंहले बताए । उनका अनुसार अब छिट्टै परीक्षा सञ्चालन हुने छ । पाँचवटा प्राध्यापक संगठनहरूले उपकुलपतिको गम्भीर त्रुटि रहेको भन्दै निष्पक्ष छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र जिल्ला प्रशासनलाई जिम्मेवारी दिनुपर्ने माग गरेका थिए ।




