अयोध्या। अयोध्याको श्रीराम मन्दिरको प्राण प्रतिष्ठा नेपालका पुजारी आचार्य दुर्गाप्रसाद गौतमले गर्ने भएका छन्।
श्रीराम जन्मभूमि मन्दिरको शिलान्यासको बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई वैदिक मन्त्रोच्चारसहित ५ अगस्त २०१९ मा शिलान्यास गराउने नेपाली मुलका पुजारी आचार्य गौतमलाई विशेष पूजाको लागि निम्तो गरिएको छ। झापा मेचीनगर निवासी आचार्य गौतमले आफूलाई प्राण प्रतिष्ठाको पूजा गराउन निम्तो पनि पाउनु गौरवको विषय भएको प्रतिक्रिया दिएका छन्।
अयोध्याको राम मन्दिरको प्राण प्रतिष्ठा माघे संक्रान्ति १ गते अर्थात् १४ जनवरी २०२४ मा गरिदैछ। २२ जनवरीमा भारतका प्रम मोदीले विश्वभरिको हिन्दुहरूको चन्दाबाट बनेको २० अरब भारू लागतको राम मन्दिर परियोजनाको उद्घाटन गर्दैछन्।
सन् २०२० मा भारतको सर्बोच्च अदालतको आदेशअनुसार ४ वर्षअघि राम मन्दिरको शिलान्यास गरिएको थियो । ७० एकड भन्दा बढी भूमिमा फैलिएको राम मन्दिरको निर्माण करिब-करिब सम्पन्न भएको छ।
राम मन्दिरको उद्घाटन समारोहका लागि रामको ससुराली जनकपुरधामबाट कपडा, फलफूल, गरगहना सहितका सामग्री ११ सय वोटा थालीको कोशेली अयोध्या पुगेको छ। जसमा नेपालबाट ५१ प्रकारका मिठाई एवं नेपालका विभिन्न नदीहरूका निर्मल जल पनि अभिषेकका लागि लगिएको छ । राम र सीताको प्रतिमा मूर्ति बनाउन म्याग्दी ज़िल्लास्थित कालीगण्डकी नदीबाट २ ठुला ढुङगा नेपाल सरकारले गत वर्ष पठाएकोमा सन्त महन्तले त्यसलाई शालिग्राम मानेर तोड़न नमिल्ने भनेकाले त्यहॉ सुरक्षित राखिएको छ र अरु नै पत्थरबाट राम सीताको मूर्ति बनाईएको छ।




