काठमाडौं । उद्योगी तथा व्यवसायीहरूले बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने कर्जाको ब्याजदर एकल अङ्कमा कायम गर्न सरकारलाई आग्रह गरेका छन् ।
नेपाल जुत्ताचप्पल उद्योग व्यवसायी सङ्घको ‘दशौँ वार्षिक साधारणसभा एवं पाँचौँ महाधिवेशन’को आज उद्घाटन गर्दै नेपाल राष्ट्रिय व्यवसायी महासङ्घका अध्यक्ष कुमार कार्कीले साना तथा मझौला व्यवसायीलाई व्यवसायको वातावरण बनाउन सरकारलाई आग्रह गएका हुन् ।
“बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदरका कारण कतिपय उद्योगी व्यवसायी आफ्नो व्यापार व्यवसायबाट पलायन हुनुपर्ने अवस्था छ, बैंक तथा वित्तीय संस्थाको ब्याजदर एकल अङ्कमा कायम गर्नुपर्छ”, उनले भने ।
अध्यक्ष कार्कीले घरभाडा महँगो हुँदा व्यापार-व्यवसायीलाई समस्या परेको भन्दै वैज्ञानिक घरभाडा लागू गर्न मागसमेत गर्नुभयो । उहाँले चीनसँग जोडिएका नेपाली नाकामा व्यवसायीलाई समस्या परेको भन्दै यसलाई सहजीकरणका लागि कूटनीतिक पहल थाल्न सरकारलाई आग्रह गरे । महासङ्घका पूर्वअध्यक्ष नरेश कटुवालले जुत्ताचप्पल उत्पादनका लागि आवश्यक कच्चा पदार्थ स्वदेशमै उत्पादन गर्नुपर्ने बताए ।
नेपाल जुत्ताचप्पल व्यवसायी सङ्घका अध्यक्ष दक्षमणि गौतमले स्वदेशमा उत्पादित जुत्ताचप्पललाई सरकारले प्राथमिकता दिनुपर्नेमा जोड दिए । कार्यक्रममा नेपाल जुत्ताचप्पलको क्षेत्रमा विशेष योगदान दिने व्यक्तिलाई सम्मान गरिएको थियो ।




