काठमाडौं । बुटवलका ७७ बर्षीय मनबहादुर खत्री हर्नियाको शल्यक्रियाका लागि २२ पुसमा वीर अस्पताल भर्ना भए । चार दिन जनरल बेडमा बसेर उपचार गरेका खत्रीको स्वास्थ्य बीमाबाट ८०० रुपैयाँ काटियो ।
बुहारी निरमाया स्वास्थ्यमन्त्रीले घोषणा गरे बमोजिम निःशुल्क बेड सुविधा नपाएको गुनासो गर्छिन् । ‘स्वास्थ्यमन्त्रीले बेड निःशुल्क गरिएको प्रचार गर्नुभएको थियो’, परिवारका सदस्यहरुको स्वास्थ्य बीमा गरेकी खत्रीले अनलाइनखबरसँग भनिन्, ‘तर जनरल बेडको शुल्क स्वास्थ्य बीमाबाट काटियो ।’
सर्लाही मलंगवाकी निशा यादव पनि पित्तथैलीमा पत्थरी देखिएका कारण पुस अन्तिम हप्ता तीन दिन वीर अस्पताल भर्ना भएर उपचार गरिन् । तर अस्पतालले तीन दिनको जनरल बेडमा बसेको ६०० रुपैयाँ स्वास्थ्य बीमाको थैलीबाट काट्यो ।
‘बीमाबाट पैसा काटिएको छ, के–को निःशुल्क बेड ?’ यादवले प्रश्न गरिन्, ‘बेड शुल्क नकाटिएको भए पो राहत । प्रचार गरेजस्तो नागरिकले सेवा पाएका छैनन् ।’(अनलाईन खबर)




