गुल्मी । गुल्मीमा पहिलोपटक हेमोडायलाइसिस सेवा सुरु भएको छ । भारतीय दुतावासको सहयोगमा जिल्ला अस्पतालमा ५ वटा डायलाइसिस मेसिनबाट हेमोडायलाइसिस सेवा सुरु भएको हो ।
सेवा सञ्चालनका लागि भारतीय दुतावासले संघीय सरकारमार्फत् ७० लाख रुपैयाँ बराबरको ५ वडा डायलाइसिस मेसिन उपलब्ध गराएको र अस्पतालले जडान र अन्य उपकरणका लागि १२ लाख रुपैयाँ खर्च भएको अस्पतालका जनस्वास्थ्य निरीक्षक बोम अर्यालले बताए ।
डायलाइसिस सेवा सञ्चालनका लागि राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रले डक्टर र स्टाफ नर्सलाई तालिम दिएको छ । ‘हाल एक जना मेडिकल अधिकृत र एकजना स्टार्फ नर्स तालिम लिएर आएपछि सेवा सुरु गरिएको छ भने दुई जनाले तालिम लिइरहेका छन्,’ उनले भने, ‘त्यसैले जनशक्तिको सीमितताको कारण हाललाई एक सिफ्टमात्र सेवा सञ्चालन गरिएको छ।’
अस्पतालका अनुसार ५ मेसिनमध्ये २ वटा ब्याकअप राख्ने र ३ वटा मेसिनबाट सेवा दिने गरिएको छ । गुल्मी अस्पतालबाट डायलाइसिस सेवा लिनका लागि १६ जनासम्मले सम्पर्क गरेको भएपनि हाल जम्मा ४ जनाले मात्र सेवा लिएका छन् ।
थप जनशक्ति र मेसिनको व्यवस्था भएमा २ सिफ्ट नै सेवा दिन सकिने अस्पतालले जनाएको छ । ‘प्रदेश जनस्वास्थ्य निर्देशनालयले करारमा ३ जना स्टाफ नर्स र २ जना कार्यालय सहयोगीको व्यवस्थाका लागि विज्ञापन खोलेको छ, थप मेसिन पनि किनेर दिने भन्ने आश्वासन आएको छ,’ उनले भने ।
यसअघि बुटवल काठमाडौं लगायतका जिल्लाहरुमा पुगेर सेवा लिँदा धेरै खर्च हुने गरेकोमा अब जिल्लामै डायलाइसिस सेवा सञ्चालन भएपछि कम खर्चमा सेवा लिन सकिने सरोकारवालाहरुले बताएका छन् ।
दुई सिफ्टमै सेवा सञ्चालन गर्न जनशक्तिकै लागि मात्रै वार्षिक ४२ लाख आवश्यक पर्ने अस्पतालले जनाएको छ । त्यसबाहेक औषधी उपकरणको समेत खर्च जोड्दा लाखौं रकम व्यवस्थापन गरेर सेवालाई निरन्तरता दिन चुनौतीपूर्ण रहेकोले आवश्यक जनशक्तिको लागि प्रदेश वा संघीय सरकारबाट सहयोग हुनुपर्ने अस्पतालले जनाएको छ ।




