काठमाडौं । सरकारी कागजात किर्ते गरी संगठित रुपमा भिजिट भिसामा मानव तस्करी गर्ने गिरोहमा संलग्न रहेको आरोपमा प्रहरीले ७ जना अध्यागमन अधिकृतसहित २२ जनाविरुद्ध आज मुद्दा दायर गर्ने भएको छ।
प्रहरी प्रतिवदेनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले ७ अध्यागमन अधिकृतसहित २२ जनाविरुद्ध लिखत कीर्ते र संगठित अपराधसम्बन्धी कसूरमा मुद्दा दर्ता गर्न लागेको हो।
जिल्ला प्रहरी परिसर,काठमाडौंले भिजिट भिसामा मानव तस्करी गरेको आरोपमा ७ जना अध्यागन अधिकृतसहित २२ जनाविरुद्ध मुद्दा चलाउने रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाइसकेको छ।
सोही प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले उनीहरूविरुद्ध लिखत कीर्ते र संगठित अपराध गरेको आरोपमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गराउन लागेको हो।
गत मंसिर १८ गते अध्यागमन अधिकृत नरवीर खड्कालाई सरकारी कागज कीर्ते गरी मानव तस्करी गर्ने गिरोहसँग संलग्न रहेको आरोपमा अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको थियो।
अध्यागमन अधिकृत खड्काकै बयानका आधारमा अन्य ८ जना अधिकृतलाई पनि प्रहरीले प्रतिवादी बनाए अनुसन्धान अघि बढाएको हो।
जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भएका ती ८ जना अधिकृत भने फरार छन्।
ट्राभल एजेन्सीमार्फत रकम लिएर नक्कली कागजात बनाउनेदेखि उनीहरूलाई विमानस्थलबाट बाहिर पठाउने प्रक्रियामा अध्यागमनका कर्मचारीहरूको संलग्नता रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
पछिल्लो समय रोजगारीको प्रलोभन देखाएर मानव तस्करी बढ्न थालेपछि सरकारले भिजिट भिसाको यसअघिको १७ बुँदे प्रावधान खारेज गर्दै नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको छ।




