म्याग्दी । गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठक बागलुङ नगरपालिका ६ स्थित ऐतिहासिक, धार्मिक स्थल पञ्चकोटमा बस्ने भएको छ । पञ्चकोटमा आगमी फागुन ९ गतेदेखि सुरु हुने अनन्तश्री ब्रह्माण्डीय महायज्ञको प्रचारप्रसारलाई सहयोग पु¥याउन गण्डकी सरकारको मन्त्रिपरिषद्को बैठक पञ्चकोटमा हुन लागेको हो । प्रदेश सरकारको मन्त्रिपरिषद् वैठक बस्ने भएपछि पञ्चकोटवासीहरु उत्साहित भएका छन् ।
प्रदेशभित्रका ऐतिहासिक, धार्मिक, पुरातात्विक, पर्यटकीय स्थलहरुको प्रवद्र्धनका लागि प्रदेशका विभिन्न ठाउँहरुमा मन्त्रिपरिषद्को बैठक गर्ने योजना अनुसार सोमबार पञ्चकोटमा बैठक बस्ने तयारी गरिएको मुख्यमन्त्रीको सचिवालयका प्रेस संयोजक नरहरी सापकोटाले जानकारी दिनुभयो । बैठकले पञ्चकोटको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने गण्डकी सरकारको अपेक्षा छ ।
बागलुङ नगरपालिकाले प्रदेश सरकारको मन्त्रिपरिषद्को वैठकको आवश्यक तयारी थालेको पञ्चकोट बृहत्तर विकास समितिका उपाध्यक्ष समेत रहनुभएका बागलुङ नगरपालिका ६ का वडाध्यक्ष रुद्रबहादुर केसीले जानकारी दिनुभयो ।
प्रदेश सरकारको वैठक पञ्चकोटमा आयोजना हुने भएपछि महायज्ञ आयोजक समितिले आवश्यक तयारी गरेको छ । पञ्चकोटमा प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठक आयोजना हुनु हाम्रो लागि खुसीको कुरा हो महायज्ञका प्रवक्ता सुदर्शन प्रपन्नाचार्यले भन्नुभयो, ‘‘प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठक आह्वानले हामीलाई उत्साहित बनाएको छ। बैठकले महायज्ञको प्रचारप्रसारलाई थप सहयोग मिल्ने आशा गरेका छौं ।’’
ब्रह्माण्डीय महायज्ञको तयारी अन्तिमचरणमा पुगेको उहाँले जानकारी दिनुभयो । पञ्चकोटलाई प्रमुख धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्ने उद्देश्यले मुक्तिनाथ पिठाधीश्वर स्वामी कमलनयनाचार्यको सङ्कल्पमा आगमी फागुन ९ देखि २२ गतेसम्म ब्रह्माण्डीय महायज्ञ हुन लागेको हो ।
पञ्कोटलाई धार्मिक पर्यटकीय गन्तब्यका रुपमा विकास गरी मुक्तिक्षेत्र र शालग्रामको महिमालाई विश्वस्तरमा पु¥याउन नेपालमै पहिलोपटक ब्रह्माण्डीय महायज्ञको आयोजना गर्न लागिएको महायज्ञका प्रवक्ता प्रपन्नाचार्यले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘पञ्चकोटमा धार्मिक संरचनाहरु निर्माण गरेर विश्वभरका हिन्दुहरुलाई यहाँ आकर्षित गर्ने लक्ष्य छ । बागलुङ भगवति पञ्चकोट, गलेश्वरधाम, मुक्तिनाथ र दामोदरकुण्डलाई धार्मिक सर्किटमा जोडेर वर्षेनी लाखौं धार्मिक पर्यटक ल्याउने हाम्रो योजना छ ।’’




