काठमाडौँ । शुक्रबार पक्राउ परेका पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरालाई बुटवल पुर्याएको छ। सुन कान्डमा पक्राउ परेका उनलाई बुटवल पुर्याउनुमा अर्को कान्ड रहेको खुलेको छ।
पुनले बुटवलमा रहेको सुप्रिम बचत तथा ऋण सहरकारी संस्थाका सर्वसाधारणको बचत हिनामिना गरेको आरोप लागेको छ। सहकारी ठगी मुद्दामा यस अघि नै पक्राउ पुर्जी जारी भएकाले उनलाई बुटवल पुर्याइएको पहरीको भनाइ छ।
बुटवलका १० हजार बचतकर्ताको सबा १ अर्ब रकम हिनामिना प्रकरणमा दिपेश जोडिएका छन्। जीबी राई अध्यक्ष र दीपेश पुन कोषाध्यक्ष रहेको सुप्रिम सहकारीको बचत रकम हिनामिना गरेको उजुरी प्रहरीमा छ।
उनी शुक्रबारै राजधानीको टोखाबाट पक्राउ परेका थिए। रुपन्देहीका एसपी रञ्जितसिंह राठौरले उनीविरुद्ध मुद्दा भएकाले काठमाडौँबाट झिकाइएको जनाएका छन्। तर काठमाण्डौ प्रहरीले उनलाई सुन तस्करीमा संलग्न भएको आरोपमा पक्राउ गरेको सूचना दिउसो दिएको थियो।
सुन तस्करीबारे अनुसन्धान गर्दा सहकारी ठगीमा पनि यसअघि नै वारेन्ट जारी भएकाले यहाँ ल्याइएको आंकलन गरिएको छ। इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी विजयराज पण्डितले सुप्रिम सहकारीका वचतकर्ताले सबा १ अर्ब रकम अपचलन गरेको मुद्दाको विषयमा अनुसन्धान गर्न पुनलाई बुटवलमा राती नै ल्याइएको पुष्टि गरे।




