भोजपुर । जसलाई जे आवश्यकता छ, उसलाई तेहि ठुलो । भोजपुरको अरुण गाउँपालिकाले ज्येष्ठ नागरिकको दाँत फेरिदिएको छ । ज्येष्ठ नागरिकका लागी यो भन्दा ठुलो के हुनसक्छ । राजनीति, ‘स्टन्ट मात्रै होईन बिशुद्द समाज सेवा हो’ भन्ने कुरा आफुले राम्रैसंग बुझेको ‘ज्येष्ठ नागरिक दन्त उपहार’ कार्यक्रमका आयोजक गाउँपालिका प्रमुख शालिकराम खत्रीले बताउनुभयो ।
यस्तो साच्चै सामाजिक सेवा भावको कार्यक्रम तपाईले कसरी सोच्नुभयो, भन्ने कान्तिपथ अनलाईन संगको कुराकानीमा पालिका प्रमुख खत्री भन्नुहुन्छ,” दांत नभएका कारण खानपानमा उहांहरुले भोग्नु परेको ब्यक्तिगत समस्या त छदैछ , गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता लगायत अरु सेवा सुबिधाका लागि आउनुहुने ज्येष्ठ नागरिकसंग दोहोरो संवादमा कठिनाई हुने गरेको, उहांहरुले दिएको जवाफ बुझ्न नसकि दिने सेवामा विलम्ब हुने गरेको यि बिबिध कारणले आफुमा यो ‘ज्येष्ठ नागरिक दन्त उपहार’ कार्यक्रमको धारणा धेरै अगाडी बनेको र अरु बिबिध कारणले हामिले भर्खर शुरु गरेका छौ” ।
वृद्धाअवस्थामा दाँत झर्दा समस्यामा रहेका ८४ जना वृद्धवृद्धाको ‘ज्येष्ठ नागरिक दन्त उपहार’ कार्यक्रम अन्तर्गत दाँत फेरिदिएको हो । बुढेशकालमा दाँत फेर्न पाउँदा खुसी लागेको स्थानीय ७३ वर्षीय बृद्ध टङ्कबहादुर भुजेलले बताउनुभयो । गाउँपालिकामा निःशुल्क दाँत फेर्न पाउँदा समय र पैसाको बचत भएको उहाँको भनाइ छ ।“गाउँपालिकाले हामीलाई दाँत उपहार दिएको छ”उहाँले भन्नुभयो,“आर्थिक अवस्था कमजोर भएको कारण नयाँ दाँत लगाउन सकेको थिइन् । गाउँपालिकाले दाँत फेरिदियो मलाई एकदम खुसी लागेको छ ।”
आफ्नै ठाउँमा दाँत फेर्न पाउँदा सहजतासँगै खुसी लागेको स्थानीयवासी ७२ वर्षीय वृद्ध गङ्गाबहादुर राईले बताउनुभयो । यहाँका सातवटै वडाका ज्येष्ठ नागरिकको खोजी गरेर दाँत उपहारका रुपमा दिएको गाउँपालिका प्रमुख शालिकराम खत्रीले बताउनुभयो । पहिलो चरणमा चिकित्सकले दाँतको परीक्षण गरेर आकारको नाप, जाँच लिएका थिए । त्यही नाप, जाँचको आधारमा ८४ जना ज्येष्ठ नागरिकको दाँत परिवर्तन गरिएको उहाँको भनाइ छ ।
“गाउँपालिकाको तर्फबाट ज्येष्ठ नागरिकलाई दाँत उपहार दिएका छौँ”अध्यक्ष खत्रीले भन्नुभयो,“दाँत नहँदा माड खाएर बसेका ज्येष्ठ नागरिकलाई सहजता थप्न दाँत दिएका हौँ ।”
उपलब्ध गराइएको दाँतमा केही समस्या आएमा दश वर्षसम्म निःशुल्क मर्मत गर्ने गरी अस्पतालसँग गाउँपालिकाले सम्झौतासमेत गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनिराम खतिवडाले जानकारी दिनुभयो । ज्येष्ठ नागरिकको मनोबल बढाउनका लागि ज्येष्ठ नागरिक दन्त उपहार कार्यक्रममामार्फत गाउँपालिकाले निःशुल्क दाँत उपलब्ध गराएको गाउँपालिका उपाध्यक्ष विनिता ढकालले बताउनुभयो ।
बुढेसकालमा खानपानसँगै सौदर्यतासमेत प्रभाव पर्ने भएकाले गाउँपालिकाले दाँत फेरिदिएको उपाध्यक्ष ढकालले बताउनुभयो ।“आर्थिक रुपमा कमजोर रहेका ज्येष्ठ नागरिकलाई दाँत लगाइदिएका छौँ” उपाध्यक्ष ढकालले भन्नुभयो,“यसले उहाँहरुलाई मिठो मसिनो खान सहजता हुन्छ । यसले ज्येष्ठ नागरिकको दैनिक जीवनलाई सहज बनाउछ भन्ने हाम्रो अपेक्षा हो ।”
गाउँपालिकाले रु दश लाख बजेट विनियोजन गरेर पूर्वाञ्चाल डेन्टल हस्पिटल इटहरीसँग साझेदारीमा दाँत वितरण गरेको हो । फेरिएका दाँतको १० वर्षे वारेन्टी रहेको पूर्वाञ्चल हस्पिटल अस्पतालका सञ्चालक केशव रिमालले जानकारी दिनुभयो ।रासस




