काठमाडौं । आज तीनवटा प्रदेशमा हल्का वर्षा हुने प्रक्षेपण जल तथा मौसम विज्ञान विभागले गरेको छ।
विभागका अनुसार स्थानीय वायुको प्रभावका कारण कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भेगमा वर्षाको सम्भावना देखिएको हो।
आज दिउँसो देशभर पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ। यस्तै, पहाडी भेगका थोरै तथा बाँकी भूभागका १-२ स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशभरको उच्च पहाडी र हिमाली इलाकाका थोरै स्थानमा हल्का हिमपातको सम्भावना पनि छ।
आज राति पहाडी भेगमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी र कर्णालीका पहाडी इलाकाका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। यस्तै, कोशी, गण्डकी र कर्णालीका उच्च पहाडी र हिमाली भेगका थोरै तथा बाँकी प्रदेशका उपल्लो थलोका १-२ स्थानमा हल्का हिमपातको सम्भावना पनि छ ।




