काठमाडौं । अन्नपूर्ण आधार शिविर (एबिसी) पदमार्गको प्रवेशद्वारमा पर्ने पर्यटकीय गाउँ घान्द्रुकमा चैत अन्तिम साता घान्द्रुक पर्यटन महोत्सव आयोजना गरिने भएको छ। आन्तरिक तथा बाह्य पर्यटकको आकार अझै बढाउन महोत्सव आयोजना गरेको आयोजकले बताएको छ।
आयोजक घान्द्रुक पर्यटन व्यवस्थापन समितिले महोत्सव अवधिभर घान्द्रुक जाने पर्यटकलाई त्यहाँका होटलमा ३० प्रतिशत छुट दिने पनि बताएको छ। घान्द्रुकमा अहिले पनि आन्तरिक पाहुनाको आकार राम्रो रहेको र त्यो आकार अझै बढाउन खोजेको आयोजकले बताएका छन्।
महोत्सवको चारदिन अवधि (चैत २७ देखि ३०) अवधिभर घान्द्रुक आउने आन्तरिक तथा बाह्य पाहुनाले छुट पाउनेछन्। त्यसबाहेक महोत्सव अवधिमा आयोजना खेलकुदका गतिविधिमा सहभागी हुन जाने खेलाडीलाई भने प्रतिव्यक्ति ६ सय रुपैयाँको प्याकेजमा खान बस्नको सुविधा दिने आयोजकले बताएको छ।
महोत्सवका संयोजक अमृत लामा गुरुङका अनुसार अहिले पनि घान्द्रुकमा पाहुनाको अभाव छैन। अहिले पनि दिनमा आठसय जनाको हाराहारीमा घान्द्रुकमा पाहुना पुग्ने गरेका छन्। भिडभाडको बेला घान्द्रुकले दिनमा २२ सय जनासम्म पाहुना राखेको थियो।
‘हामीलाई अहिले पनि पर्यटक अभाव त होइन। एकैरातमा २२ सय जनालाई राखेका पनि छौं,’ उनले भने, ‘पर्यटक अभाव अहिले होइन। तर, प्रवर्द्धन नियमित होस भन्ने चाहेका हौ।’
घान्द्रुकमा मात्र अहिले ७३ वटा होटल र १९ वटा घरमा होमस्टे संचालन गरिएको छ। उनका अनुसार विभिन्न तहका होटल अहिले घान्द्रुकमा छन् । ती होटलमा एकरातको १५ सय देखि ३ हजार रुपैयाँसम्मको प्याकेज उपलब्ध रहेको उनले बताए। महोत्सव अवधिमा त्यो शुल्कमा ३० प्रतिशत छुट पाउने हुँदा पाहुनालाई सस्तो पर्ने उनले बताए।
चैत अन्तिम साता महोत्सव
अन्नपूर्ण गाउँपालिकाको घान्द्रुकमा चैत्र अन्तिम साता महोत्सव हुनेछ। घान्द्रुक पर्यटन व्यवस्थापन समितिको आयोजनामा चैत्र २७ देखि ३० गतेसम्म महोत्सव आयोजना गरिने बताएको छ।
घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले ‘सबै मौसममा पर्यटन’ भन्ने नारासहित पर्यटक भित्र्याउने लक्ष्य सहित महोत्सवको आयोजना गरिएको बताए। उनका अनुसार घान्द्रुकसम्म मोटरबाटो सहज भएपछि पाहुनाको आगमन बढेको छ।
महोत्सवमा विभिन्न खेलकुदका गतिविधि पनि गरिने उनले बताए। महोत्सवमा क्लबस्तरीय पुरुष तथा महिला भलिबल, खुल्ला बास्केटबल, घोडा दौड प्रतियोगिता, चक्रीय पदमार्ग दौड लगायतका प्रतियोगिता पनि आयोजना गरिएको छ।
उनका अनुसार क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११, उपविजेताले ७० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। यस्तै महिलातर्फको विजेताले ३० हजार र उपविजेताले २० हजार रुपैयाँ पुरस्कारसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
पुरुष भलिबलतर्फ विधागत उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, सेटर, सर्भर, प्रशिक्षक, उदीयमान खेलाडीलाई (सेमिफाइनलबाट म्यान अफ द म्याच) पुरस्कृत गरिनेछ। यस्तै महिलातर्फ उत्कृष्ट खेलाडी, स्पाइकर, डिफेण्डर, सेटर हुने खेलाडीलाई पुरस्कृत गरिने अध्यक्ष गुरुङले जानकारी दिए।
यस्तै महोत्सवका संयोजक अमृत लामा गुरुङले खुल्ला बास्केटबल प्रतियोगिताको विजेतालाई १ लाख र उपविजेताले ६० हजार रुपैयाँ पुरस्कारसहित शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिने जानकारी दिए।
यस्तै घोडा दौड प्रतियोगिताको विजेताले ५५ हजार ५ सय ५५, उपविजेताले २७ हजार ७ सय ७७ र तेस्रो हुनेले ११ हजार ११ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। यस्तै चक्रीय पदमार्ग दौड प्रतियोगिताको विजेताले १५ हजार, दोस्रो हुनेले १० हजार र तेस्रो हुनेले ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ।





