फिदिम । पाँचथरको फालेलुङ ४ चाररातेमा ७ औँँ अन्तराष्ट्रिय चौरी महोत्सव आयोजना हुने भएको छ । फालेलुङ गाउँपालिकाको अगुवाईमा सातौं संस्करणको चौरी महोत्सव आयोजना हुन लागेको हो ।
यहाँ २०७४ सालदेखि प्रत्येक वर्षको वैशाख १ गते चौरी महोत्सव आयोजना हुँदै आएको छ । चैत ३० देखि वैशाख २ गतेसम्म महोत्सव आयोजना गरिने शुक्रबार फिदिममा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
यो वर्ष आयोजना हुन लागेको महोत्सवलाई ‘सातौं फालेलुङ चौरी पर्यटन महोत्सव’ भनिएको छ । फालेलुलुङ गाउँ पालिकाको प्रवर्द्धनमा चौरी पर्यटन महोत्सवको आयोजना फालेलुङ कञ्चनजङ्घा पर्यापर्यटन प्रवर्द्धन संस्था र दीप ज्योती युवा क्लब सहितका संघ संस्थाले आयोजना गर्न लागेका हुन् ।
हिमालको पर्यायका रूपमा स्थापित चौरी गाई र तिनका प्रजातिको संरक्षणसँगै चौरीजन्य उत्पादनहरूको प्रवद्र्धन र बजारीकरण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको गाउँपालिका अध्यक्ष वीर विक्रम थाम्सुहाङले बताउनुभयो ।
महोत्सवमा छ सय भन्दा धेरै चौँरी र याकको प्रदर्शनी गरिनेछ । योसँगै याक राइडिङ, हर्स राइडिङ जस्ता गतिविधि साथै याक चौरीमा आधारित विभिन्न्न खेल तथा सांस्कृतिक कार्यक्रम एवम् साहसिक फुटबल प्रतियोगिता महोत्सवमा राखिएको दिप ज्योती युवा क्लवका कार्यकारी अधिकृत सुनिल वान्तावाले बताउनुभयो ।
महोत्सव क्षेत्रमा चौरी र भेडाजन्य उत्पादनका स्टल राखिने बताइएको छ । महोत्सवमा नेपालका विभिन्न जिल्लासँगै भारतको पन्जाब, वेष्ट बङ्गाल, कोलकत्तासँगै भुटान हुँदै विभिन्न मुलुकका आन्तरिक र बाह्य गरी दुई हजार भन्दाबढी पर्यटक ल्याउने आयोजकको लक्ष्य छ ।




