काठमाडौं । कृषि विकास बैंकले ‘एडिबिएल स्मार्ट प्लस एप’ मा कर्जाको नयाँ प्रविधि ल्याएको छ । जसमार्फत् योग्य ग्राहकले दुई लाखसम्म प्रत्यक्षरूपमा आफ्नै मोबाइल बैंकिङ एपबाट बिना कुनै धितो, कुनै कागजी कार्य वा बैंक भ्रमण नगरी तुरुन्तै कर्जा प्राप्त गर्न सक्नेछन् । बैंकमा तलबी प्रकारका खाता भएका योग्य ग्राहकले बैंकले तोकेको सीमाअनुसार आफ्नो मोबाइल बैंकिङ एपबाट नै कर्जा लिन, कर्जाको भुक्तानी अवधि इएमआई आधारमा ३, ६, ९, १२ महिना तय गर्न सक्नेछन् भने पूर्वभुक्तानीको विकल्प पनि रहने बैंकले जनाएको छ । एडिबिएल इन्स्ट्यान्ट फोनलोन योग्य ग्राहकले बाइ नाओ, पे लेटर (बिएनपिएल) सुविधासमेत प्राप्त गर्न सक्नेछन् ।
बिएनपिएल सुविधा प्रयोग कुनै पनि फोनपे मर्चेन्टमा क्युआर पेमेन्टको समयमा क्रेडिट भुक्तानी गर्न प्रयोग गर्न सकिन्छ । जसबाट ग्राहकले आफूलाई चाहिएको सामान खरिद गर्न अनुमति दिन्छ र निर्धारित समयभित्र मासिक किस्तामा भुक्तानी गर्नुपर्ने हुन्छ ।
त्यस्तै, ग्राहकले ‘कन्भर्ट टु इएमआई’ सुविधा पनि प्राप्त गर्न सक्नेछन् । जसअन्तर्गत योग्य ग्राहकले आफ्नो अघिल्लो ठूलो कारोबार रकम कर्जामा रूपान्तरण गरी मासिक किस्तामा भुक्तानी गर्न सक्नेछन् । यस्तो सेवा प्रयोग गर्न ग्राहकले आफ्नो मोबाइल बैंकिङ एपमार्फत् प्रमाणित इमेल ठेगाना उपलब्ध गराएर सजिलैसँग एडिबिएल इन्स्ट्यान्ट फोनलोनमा रजिस्टर गर्न सक्ने पनि बैंकले जनाएको छ ।
कर्जाको योग्यता बैंकद्वारा विभिन्न मापदण्ड जस्तैः बैंकमा तलबी खाता हुनुपर्ने, बैंक खाताबाट नियमित कारोबार भएको हुनुपर्ने, बैंकसँग भाखा नाघेको कर्जा नभएको लगायतका आधारमा सफ्टवेरमार्फत् तय गरिने बताइएको छ ।




