पाल्पा । दोस्रो ऐतिहासिक गोरखा–जितगढी पदयात्रामा सहभागी टोली आइतबार पाल्पा पुगेको छ । ऐतिहासिक गढी, किल्ला, दरबारको संरक्षण तथा प्रवर्द्धनका लागि नेपाली सेनाले गत चैत २७ देखि सुरु गरेको दोस्रो पदयात्रामा सहभागी सेनाको टोलीलाई रामपुर ३ केलादीमा भव्य स्वागत गरिएको छ ।
गोरखाबाट तनहुँ, स्याङ्जा, हुँदै पदयात्राको छैठौं दिन पाल्पा आईपुगेको टोलीलाई पञ्चेबाजा सहित स्वागत गरिएको थियो । श्री नं. ३ राजदल गणका प्रमुख सेनानी रवि खड्काको टोलीले दी फेमस महिन्द्र दल गणलाई झण्डा र विजय दिप हस्तान्तरण गरेको थियो । राष्ट्रिय झण्डाको साथमा नेपाल एकीकरणको दौरान स्थापना भएका ५ प्रथम कम्पनी (श्रीनाथ, कालिबक्स, बर्दवाणी, सबुज, पुरानो गोरख) र जितगढी लडाईमा सहभागी गुरुबक्स गुल्मको झण्डा बोकेर बाजागाजा र विजय दिप सहित पदयात्रामा निस्किएको टोलीलाई स्वागत गर्न पञ्चे बाजा सहित जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा सरोकारवालाहरु केलादी पुगेका थिए ।
जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल, रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापा, रामपुर नगरपालिका उपप्रमुख बालकुमारी थापा, प्रमुख जिल्ला अधिकारी आनन्द काफ्ले, २२ नम्बर बाहिनी बुटवलका सहायक रथी ललितबहादुर कुँवर, दी फेमस महिन्द्र दल गणका गणपति भुपेन्द्र गुरुङ, लगायत रामपुर नगरपालिकाका कर्मचारी, विद्यार्थी, सहित स्थानीयले स्वागत गरेका थिए ।
पदयात्रामा सहभागी टोलीलाई लखन पार्क, खोप्टार पाटी र देविस्थानमा सांस्कृतिक झाँकी सहित विभिन्न समुहले स्वागत गरेको थियो । रामपुर ४ देविस्थानमा भएको कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले नेपाली सेनाको बहादुरी कै कारण मुलुक कसैको अधिनमा नपरेको बताउनुभयो । सेनाले चालेको कदमले ऐतिहासिक गढी तथा किल्लाहरुको संरक्षण र पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताउनुभयो ।
रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाले ऐतिहासिक स्थलको पहिचान र प्रचार प्रसारका लागि भएको पदयात्राले भावि पुस्तालाई जानकारी दिन मात्र नभएर पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण योगदान दिने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले पदयात्राले सेना र जनता विचको सम्बन्ध थप सुमधुर बनाउन सहयोग गरेको बताउनुभयो ।
श्री नं. २२ बाहिनीका सहायक रथी ललित बहादुर कुँवरले इतिहासको सम्वद्र्धन तथा प्रवद्र्धन गरी भावी पुस्ताहरुको लागि हस्तान्तरण गर्ने, राष्ट्रिय एकताको भवना थप प्रगाढ बनाउने उद्देश्यले गत वर्षदेखि पदयात्रा सुरु गरिएको जानकारी दिनुभयो । पाल्पा आफैंमा ऐतिहासिक स्थान रहेको बताउँदै वर्तमानलाई भविष्यसँग जोड्ने विशुद्ध योजना अनुरुप कार्यक्रम गरिएको बताउनुभयो ।
११ दिनको पदयात्रा दुई सय सात किलोमिटर दुरी पार गर्दै वैशाख ७ गते जितगढी पुगेर सकिने छ । नेपाली सेनाले राज्य एकीकरणका क्रममा प्रयोग गरेका पदमार्गको प्रचार गर्दै कोत, गढी, किल्लाहरूको संरक्षण गर्ने र इतिहासबारे सर्वसाधारणलाई जानकारी गराउन गत वर्षदेखि पदयात्रा सुरु गरेको थियो । पाल्पामा रहेका ऐतिहासिक गढी, किल्ला, युद्धस्थल तथा पदमार्गको सेनाले ६ दिन लगाएर पदयात्रा गर्ने दी फेमस महिन्द्र दल गणका गणपति भुपेन्द्र गुरुङले जानकारी दिनुभयो ।
केलादीदेखि सुरु भएर पदयात्रा ऐतिहासिक पौवा, देवीस्थान, सीताकुण्ड, बेलडाँडा, सिलुवा, जब्गादी, वीरकोट हुँदै बाकुमगढीमा पुग्नेछ । बाकुमगढीबाट ताहुँ, हुमिन, देवीनगर, मुन्टुङ, केरौली, झडेवा, जगात, गोठादी हुँदै माथागढी जानेछ । माथागढीबाट हर्नेटार, मरमरा, सिकारकोट, दमार, एक्लेबर सराई, दमकडा भएर प्रवास (तानसेन) मा बस्नेछ । प्रवासदेखि बर्तुङ तानसेन, रणउजिरेश्वरी भगवती मन्दिरबाट पुनः काजीपौवा बाट डुम्रे, मस्याम, सिस्ने, मरेक झुम्सा, दोभान भएर नुवाकोट गढीमा पुग्ने नेपाली सेनाले जनाएको छ । अन्तिम दिन दोभान नुवाकोट देखि जितगढीसम्मको यात्रा गरेर पदयात्रा समापन हुनेछ ।




