काठमाडौं । नेपालबिना भारत अधुरो र अपुरो रहेको धीरेन्द्र कृष्णशास्त्री बागेश्वर बाबाले बताएका छन्।
रामनवमीको अवसरमा बुधबार सुनसरीको चतराधामस्थित राम मन्दिरको शिलान्यास गर्दै बागेश्वर बाबाले भने, ‘नेपाल र भारत हेर्दामा दुई फरक राष्ट्र देखिन्छ। तर साँचो अर्थमा भन्ने हो भने नेपालीबिना भारत अधुरो छ। माता जानकीजीबिना हाम्रा रामजी अधुरा छन् । हामीपनि नेपाल नआइ अधुरै थियौं।’
नेपालमा पहिलोपटक शाश्वतधाममा आएको बताएका बागेश्वरले दोस्रोपटक चतराधामले बोलाएको उल्लेख गरे । उनले भने, ‘दोस्रोपटक नेपाल आएको छु । मनमा कुनै भ्रम छैन । हिन्दुमा उत्साह ल्याउन र फेरि एकपटक नेपालमा हिन्दुहरुलाई ब्युताउँन आएको छु ।’
नेपाल आफ्नो आत्मा भएको बताएका बागेश्वर बाबाले भने, ‘नेपाल राष्ट्रको उत्थानका लागि नेपालमा शान्ति सद्भाव कायम राख्नका लागि, नेपालमा हिन्दुत्वको प्रभुत्व कायम राख्नका लागि, राम महिमा बढाउनका लागि प्रार्थना गर्दछु । सबै नेपालीको भलो होस्।’
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की, स्वामी आनन्द अरुण, उद्योगी राजेन्द्र राउत, सिद्धबाबा कृष्णाजी महाराज लगायतले संयुक्त रुपमा राम मन्दिरको शिलान्यास गरेका थिए । उनले आउने पाँच दिन निरन्तर बेलुका साढे ४ बजेबाट कथा प्रवचन गर्ने बताए ।




