काठमाडौं । नेपाल पत्रकार महासंघको संस्थापक विषयमा टुङ्गो लगाउन माग गर्दै संवाद कार्यक्रम गरिएको छ । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) संघीय समितिले आज यहाँ स्थापना दिवसको अवसरमा संवाद कार्यक्रम आयोजना गरेको हो ।
संस्थापक विषय संवेदनशील विषय भएकाले अध्ययन गरी तथ्य र प्रमाणका आधारमा त्यसलाई टुङ्गो लगाउन सरोकारवाला पक्षका नेतृत्वले सुझाव दिनुभएको छ । संस्थापक विषयमा लामो समयदेखि विवाद कायम रहेकाले त्यसको टुङ्गो लगाउनमा विलम्ब गर्न नहुन सबैको आग्रह छ ।
नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले इतिहासलाई कैद गर्न नमिल्ने भन्नुहुँदै त्रुटी भएको छ भने त्यसलाई अध्ययन गरी तथ्य र प्रमाणका आधारमा टुङ्गो लगाउनै पर्ने धारणा राख्नुभयो । आफू नेतृत्वको महासंघको कार्य समिति बैठकमा गम्भीरतापूर्वक छलफल भइरहेकाले मापदण्ड बनाएर निस्कर्षमा पुग्न महासंघ तयार रहेको उहाँले बताउनुभयो ।
महासंघका पूर्व अध्यक्ष डा. महेन्द्र विष्टले यो विषय लामो समयदेखि उठ्दैआएकाले दस्तावेजको आधारमा निस्कर्षमा पुग्न आवश्यक रहेको सुझाव दिनुभयो । तत्कालीन नेपाल पत्रकार संघ २००८ सालमा गठन भएको विषयमा कुनै विवाद नरहेको तर त्यसको निरन्तरता अहिलेको महासंघ भए नभएको विषय मात्र टुङ्गो लाग्न बाँकी रहेको उहाँले बताउनुभयो ।
फोनिजका निवर्तमान अध्यक्ष डण्ड गुरुङले इतिहास लेखनमा त्रुटी भएमा त्यसलाई सच्याउन तत्पर हुनुपर्ने बताउनुभयो । दस्तावेजको अध्ययन गरी तथ्य र प्रमाणका आधारमा टुङ्गो लगाउनमा महासंघका पदाधिकारीहरु गम्भीर हुनुपर्ने उहाँको सुझाव छ ।
फोनिजका अध्यक्ष गजुरधन राईले महासंघको संस्थापकको विषय फोनिजको मात्र एजेण्डा नभई सबैको साझा एजेण्डा भएको बताउनुभयो । संस्थापकको विषयमा निस्कर्षमा पुग्नकै लागि संवाद र स्थापना दिवस मनाएको उहाँले बताउनुभयो । तत्कालीन नेपाल पत्रकार संघ वैशाख ९ गते स्थापना भएकाले अव यस दिनलाई स्थापना दिवस मनाउनमा सबैको पहल र सहयोग आवश्यक रहेको उहाँको भनाइ छ ।
फोनिजका सल्लाहकार मनोज घर्तीले इतिहास बंग्याउने छुट कसैलाई नभएको र त्रुटी भएको इतिहासलाई तत्काल सुधार्न आवश्यक रहेको बताउनुभयो । वार्ता, संवादकै आधारमा सहमतिमा पुग्न सकिने भन्दै उहाँले महासंघ र फोनिज दुवै पक्ष गम्भीर भएर लागने समस्या समाधान हुने बताउनुभयो ।
फोनिजका वरिष्ठ उपाध्यक्ष लक्की चौधरीले हिजोको संघकै निरन्तरता आजको महासंघ भएकाले समस्या समाधानमा सबैको साझा पहल आवश्यक रहेको बताउनुभयो । नेपाल टुडेका सम्पादक सत्यनारायणबहादुर श्रेष्ठले आफ्नो अगुवाइमा २००८ साल वैशाख ९ गते तत्कालीन पत्रकार संघ गठन गर्नुभएको तथ्य, प्रमाण र लिखतले पुष्टि गरिरहेकाले निस्कर्षमा पुग्न ढिलाइ गर्न नहुने उहाँको सुझाव छ ।
फोनिजले नेपाल पत्रकार महासंघ पदाधिकारीहरुसँग संस्थापक विषयमा टुङ्गो लगाउन वार्ता पनि सुरु गरेको छ । औपचारिक तथा अनोपचारिक वार्तामा सकारात्मक पहल भएको र विज्ञ टोली गठन गरेर सो टोलीले दिने प्रतिवेदनका आधारमा निस्कर्षमा पुगिने दुवै पक्षको भनाइ छ । संवाद कार्यक्रममा सहजीकरण नेवाः पत्रकार राष्ट्रिय दवुका पूर्व अध्यक्ष सुरजवीर वज्राचार्यले गर्नुभएको थियो ।




