काठमाडौँ । नियमपाल उत्पादकत्व केन्द्र र पाँचपोखरी थाङपाल गाउँपालिका बीच पर्यटन प्रवर्द्धनका लागि सहकार्य गर्ने सम्झौता भएको छ । आइतबार नियमपाल उत्पादकत्व केन्द्रका अध्यक्ष डा. सञ्जीव हुमागाईँ र पाँच पोखरी थाङपाल गाउँपालिकाका प्रमुख कार्यकारी लक्ष्मण कुइँकेलले सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
स्थानीय विशेषता सहितको पर्यटन रणनीति निर्माण गर्ने र भविष्यमा आवश्यक पर्ने पर्यटन सम्बन्धी जनशक्ति उत्पादन गर्ने सो सम्झौताको प्रमुख उद्देश्य रहेको छ । धार्मिक तथा पर्यटकीय स्थल पाँचपोखरी रहेको सो गाउँपालिकामा हिलिंङ टुरिजम (विभिन्न रोग निवारण र मानसिक शान्तिको लागि गरिने पर्यटन)को नेपालको नमुना अभ्यास गर्ने योजना अघि बढाएको छ ।
नियमपाल उत्पादकत्व केन्द्रले अगाडी सारेको हिलिंङ टुरिजमको अवधारणा मार्फत स्थानीय आर्थिक विकासको लक्षमा सहयोगी बनाउने रणनीतिक योजना समेत यो सम्झौता मार्फत अघि बढाइने छ । यो अवधारणाको सफल अभ्याससँगै सो गाउँपालिकाका विद्यार्थीहरूमा नेतृत्व क्षमता विकास गर्ने कार्यक्रम पनि संचालन गरिने नियमपालका अध्यक्ष डा. हुमागाईँले बताए ।
विद्यार्थीहरूमा सृजनशीलता विकास गरी बहु आयामिक नतिजा प्राप्त गर्न गाउँपालिका तल्लीन रहेको कुइँकेलले जानकारी दिए। उनले यो सम्झौता मार्फत गाउँपालिकाले नयाँ र रचनात्मक कार्यमा पदार्पण गरेको समेत बताए ।
नियमपाल नेपाल सरकारले तय गरेका १०० पर्यटकीय गन्तव्य लगायत अन्य महत्त्वपूर्ण पर्यटकीय क्षेत्र र त्यहाँको वस्तुगत अवस्था अनुरूपको पर्यटन नीति निर्माणमा लागि परेको सँस्था हो । स्थानीय पर्यटन नीतिलाई नेतृत्व र लागु गर्न सक्ने युवा जनशक्ति उत्पादनमा यो सँस्था क्रियाशील रहँदै आएको छ । आम नागरिकमा पर्यटन शिक्षा पुर्याउने लक्ष नियमपालको रहेको छ ।




