बाँके । कृषि पेसामा आकर्षित गराउनका लागि बाँकेको डुडुवा गाउँपालिकाले नयाँ नीति ल्याएको छ ।
उक्त पालिकाका अध्यक्ष नरेन्द्र चौधरीका अनुसार कृषकहरूलाई प्रोत्साहित गर्नका लागि गहुँ खेतीमा ५० प्रतिशत अनुदान दिन सुरु गरे पछि कृषि पेशा गर्नेहरूमा उत्साह थपिएको छ । गहुँको बिउ उत्पादन गर्ने किसान र सहकारीलाई ५० प्रतिशत अनुदान दिए पछि गत वर्ष भन्दा यस वर्ष गहुँको उत्पादनमा वृद्धि भएको कृषि शाखा प्रमुख सुशील शर्माले बताउनु भयो ।
गाउँपालिकाले यस पटक ६ वटा सहकारीलाई अनुदान दिएको थियो । १५ हेक्टर जमिनमा गहुँ लगाइएको थियो । सो पालिकाका कृषि शाखा प्रमुख शर्माका अनुसार १५ हेक्टरमा ३० मेट्रिक टन गहुँको बिउ उत्पादन भएको बताउनु भयो ।
पालिकाले प्रतिकट्टा ६६.६ किलोग्राम भन्दा बढी गहुँ उत्पादन गर्नेलाई पनि अनुदान दिने निर्णय गरेको थियो । त्यसअनुसार प्रतिकट्टा ६६.६ किलोग्राम भन्दामाथि उत्पादन गर्नेलाई अनुदान दिन सुरु गरे पछि किसानमा उत्साह थपिएको स्थानीय दिनेश यादवले बताउनु भयो । उहाँले भन्नुभयो, उत्पादन गरिएको गहुँ विगतमा विक्री गर्न समस्या हुने गरेको थियो तर गाउँपालिकाको नीतिले आफूलाई सहज बनाएको जिकिर गर्नु भयो ।
डुडुवा गाउँपालिकाका किसानले यस वर्ष १ हजार ८ सय ७६ हेक्टर क्षेत्रफलमा बाडगंगा,विजय र एनएल ९७१ जातको गहुँ ५ हजार मेट्रिक टन उत्पादन गरेका छन् । गत वर्ष डुडुवामा प्रति हेक्टर २.६ मेट्रिकटन उत्पादन भएको थियो भने यस वर्ष प्रति हेक्टर २.८ मेट्रिकपनले पाँच हजार मेट्रिक टन गहुँ उत्पादन भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दान बहादुर एडीले बताउनु भयो ।
कृषक कौशल कैरातीले गाउँपालिकाले दिन खोजेको अनुदान वास्तविक किसानका लागि उपयुक्त रहेको बताउँदै आउँदो वर्ष पनि आफूहरू सो कार्यक्रममा सहभागी हुने बताउनुभयो । केहीले धान बाली मात्र लगाउने, गहुँको बेला खेत बाँझो राख्ने र अर्कोतिर कृषि पेसाप्रतिको आकर्षण घट्दै गएको देखेपछि अनुदान दिने नीति लिइएको पालिकाका कृषि शाखा प्रमुख शर्माको भनाई थियो ।
डुडुवा गाउँपालिका गहुँको बिउँ उत्पादन गर्ने पकेट क्षेत्रसमेत भएकोले कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि कार्यक्रमबाट समेत किसानहरूले विभिन्न खालका अनुदान पाउने गरेका छन् ।




