काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका लागि मंगलबार नेपाल आउँदैछन्। परराष्ट्र मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै वैशाख ११ र १२ गते थानीले नेपालको भ्रमण गर्न लागेको औपचारिक जानकारी दिएको हो।
साथै कतारी अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको भ्रमणको नेपाली पक्षबाट लगभग सबै तयारी पूरा भइसकेको बताइएको छ। उनलाई स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल आफैँ विमानस्थलमा जाने भएका छन्।
अमिरलाई राष्ट्रपति पौडेलले विमानस्थलमा पुगेर स्वागत गर्ने कार्यक्रम रहेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।
अरब मुलुकबाट नेपालमा हुन लागेको यो नै अहिलेसम्मको उच्चस्तरको भ्रमण हो। कतारबाट पनि यसअघि केही मन्त्रीहरू नेपाल भ्रमणमा आएका थिए। अमिर (राजा) वा प्रधानमन्त्रीले नेपालको भ्रमण भने गरेका थिएनन्। नेपालबाट भने निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले २०७९ कात्तिकमा कतारको भ्रमण गरेकी थिइन्।
अमिर शेख नेपालसहित तीन एसियाली मुलुकको भ्रमण गर्न आइतबार कतारबाट निस्केका छन्। दोहाबाट फिलिपिन्स उडेका उनी बंगलादेश हुँदै नेपाल आइपुग्ने तालिका रहेको छ। परराष्ट्र मन्त्रालयका अनुसार कतारका अमिरले राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा भेटवार्ता गर्नेछन् भने प्रधानमन्त्री पुष्पकमल दाहालसँग बुधबार द्विपक्षीय वार्ता गर्नेछन्।
परराष्ट्र मन्त्रालयका अनुसार उनको भ्रमणको क्रममा अल थानीलाई एक जोडी हात्ती उपहार दिने तयारी सरकारले गरेको छ। चितवनमा पालिएका हात्ती उपहार दिन लागिएको हो ।
परराष्ट्र मन्त्रालयका अनुसार उनको भ्रमणको क्रममा अल थानीलाई एक जोडी हात्ती उपहार दिने तयारी सरकारले गरेको छ। चितवनमा पालिएका हात्ती उपहार दिन लागिएको हो।
मन्त्रालयका अनुसार अल थानीको भ्रमणको क्रममा नेपालले कतारसँग नयाँ श्रम सम्झौता गर्ने तयारी गरेको छ। १९ वर्षअघि सन् २००५ मा नेपाल र कतारबीच श्रम सम्झौता भएको थियो। त्यसयताको परिवेश धेरै फेरिइसकेकाले श्रम मन्त्रालयले नयाँ श्रम सम्झौता गर्नका लागि तयारी गरेको हो। कतार नेपाली श्रमिकहरूको प्रमुख गन्तव्य मुलुक पनि हो।
श्रम मन्त्रालयले नेपाली कामदारको सीप विकासका लागि पनि सहकार्य गर्न चाहेको जनाएको छ। श्रम मन्त्रालयका अनुसार मन्त्री डोरप्रसाद अर्यालले कतारी राजदूत मिसाल बिन मोहम्मद एलएई अन्सारीसँग सोमबार मन्त्रालयमा भेट गर्दै सीपयुक्त जनशक्ति उत्पादनको विकासमा कतारको सहयोगको अपेक्षा राखेको बताएका थिए। जवाफमा कतारी राजदूतले पनि सहयोगका लागि कतार तयार रहेको प्रतिक्रिया दिएका थिए।
श्रम प्रवक्ता गोविन्द रिजालले राजदूतसँगको भेटमा श्रम सम्झौताको विषयमा कुरा भएको बताए। उनले भने, ‘अमिरको भ्रमणका क्रममा नेपालले श्रम सम्झौतालाई टुंग्याउन चाहेको छ। श्रम सम्झौतामा हस्ताक्षर हुने विषय अहिले नै टुंगो लागिसकेको छैन। परराष्ट्र मन्त्रालयले बाँकी विषय अगाडि बढाउँछ।’ नेपालले विगतदेखि नै श्रमसम्झौता परिमार्जन गर्न चाहेको छ। यसबीचमा दुई देशबीच उच्च श्रम अधिकारीहरूसँग पटक–पटक बैठक पनि बसेको थियो। श्रम मन्त्रालयको तथ्यांकअनुसार कतारमा हाल ३ लाख ६७ हजार ३ सय ८९ नेपाली श्रमिक छन्। मन्त्री अर्यालले कतारी राजदूत अन्सारीसँगको भेटको क्रममा नेपाली श्रमिकको सीप विकासमा सहयोग गर्न पनि आग्रह गरेका थिए। कतारले घरेलु कामदार पठाउन अनुरोध गर्दै आएको छ।
थानीको भ्रमणको क्रममा नेपाल सरकारले कान्ति बाल अस्पतालको स्तरोन्नतिका लागि झन्डै ९ अर्बबराबरको सहयोगको सम्झौताका लागि प्रस्ताव गर्ने भएको छ। यसअघि गत वर्ष कात्तिक २० र २१ गते हुने भनिएको अमिरको नेपाल भ्रमण इजरायल–हमास युद्धका कारण स्थगित भएको थियो। मन्त्रालयका उच्च अधिकारीका अनुसार थानीको भ्रमणका क्रममा विभिन्न ११ वटा सम्झौता गर्ने तयारी भएको छ।
अल थानीले सन् २०१३ देखि कतारको शासनसत्ता सम्हाल्दै आएका छन्। उनी यसअघिका अमिर हमाद बिन खलिफा अल थानीका चौथो छोरा हुन्। उनले कतारका विभिन्न सरकारी पदहरूको जिम्मेवारी सम्हालिसकेका छन्। खेल र स्वस्थ जीवनको बढावा दिन उनले भूमिका निर्वाह गर्दै आएका छन्।
गत मंसिरमा कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल मुरैखी नेपाल भ्रमणमा आएका थिए। त्यतिबेला प्रधानमन्त्री पुष्पकमल दाहाललगायत नेतासँग उनले भेटघाट गरेका थिए। त्यतिबेला नेपालले हमासको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेको थियो।




