काठमाडौं । मेडिकल व्यवसायी खुमा अर्याल नेपालगन्ज मेडिकल कलेजको अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । कलेजको मेजर शेयर खरिद गरेका अर्याल मंगलबारबाट कलेजको अध्यक्षमा चयन भएका हुन् ।
बाँकेको चिसापानीमा कलेजले एमबीबीएस पढाउने गर्छ । कलेजले नेपालगन्ज र कोहलपुरमा शिक्षण अस्पताल सञ्चालन गर्दै आएको छ । कलेजको नाममा करिब डेढ अर्ब जति ऋण रहेको छ । कोभिडको समयदेखि नै अस्पतालको आम्दानी घटेपछि कनौडिया परिवारले सेयर बिक्री गर्न खोजेको थियो ।
नेपालगन्ज मेडिकल कलेज बाँकेको नेपालगन्जमा अस्पताल, कोहलपुरमा कलेज तथा अस्पताल तथा महेन्द्रनगरमा जग्गा रहेको छ । यसको सबै गर्दा ३ अर्बभन्दा बढीको सम्पत्ति रहेको छ ।
मेडिकल कलेजमा पछिल्लो वर्षहरुमा पुराना लगानीकर्ता बाहिरिने र नयाँ लगानीकर्ता प्रवेश गर्ने क्रम बढेको छ । नेपालगञ्ज मेडिकल कलेजको स्वामित्व ५१ प्रतिशत लिएपछि अर्याल मेडिकल कलेजमा सबैभन्दा ठूला व्यवसायी बनेका थिए । अर्याल नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहेका छन् ।
अहिले नेपालगञ्ज मेडिकल कलेजमा ४१ प्रतिशत थप सेयर खरिद गरेर ५१ प्रतिशत पुर्याएको व्यवसायी अर्यालले बताए । उनले भैरहवामा युनिभर्सल मेडिकल कलेज र पोखरामा गण्डकी मेडिकल कलेज सञ्चालन गरिरहेका छन् ।
मंगलबार बसेको सञ्चालक समितिको बैठकले अर्याललाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो। अर्यालको अध्यक्षतामा मेडिकल कलेजको थप विकास र विस्तार हुने सञ्चालक समितिले विश्वास लिएको छ।
अध्यक्ष अर्यालसहित कलेजको सञ्चालकहरुमा दिनेश श्रेष्ठ, अनिज श्रेष्ठ, डा सुरेशकुमार कनोडिया, सन्तोष कनोडिया, सन्तोषकुमार खनाल, लोकहर्ष शाक्य, अजय गुप्ता र सन्दिप अग्रवाल रहेका छन्।
नवनियुक्त अध्यक्ष अर्यालले नेपालगन्ज मेडिकल कलेजलाई नयाँ योजनासाथ सञ्चालनमा ल्याउँदै थप उचाइमा पुर्याउने बताए । ‘विश्वबजारमा भित्रिएका नयाँ प्रविधि र उपचार विधिहरु मेडिकल कलेजमा ल्याएर सेवा विस्तार गर्दै नयाँ योजनासाथ कलेजको विकासमा लाग्ने छु,’ उनले भने ।
नेपालगन्ज मेडिकल कलेजको नेपालगन्जमा अस्पताल, कोहलपुरमा कलेज तथा अस्पताल र महेन्द्रनगरमा जग्गा रहेको छ ।
अर्याल गण्डकी मेडिकल कलेजका अध्यक्ष हुन् भने युनिभर्सल कलेज अफ मेडिकल कलेजका प्रबन्ध सञ्चालक हुन् ।
अर्यालले दाङमा पनि सञ्जीवनी अस्पताल स्थापनाको काम अगाडि बढाएका छन् । उक्त अस्पताललाई मेडिकल कलेजको रुपमा अगाडि बढाउने उनको लक्ष्य छ ।




