काठमाडौं । राज्यलाई विश्वसामु चिनाउने छिट्टो माध्यम खेलकुद पनी हो । यसको महत्वलाई बुझेर सरकार, राज्यका बिभिन्न अंग र संगसंगै देशका बिभिन्न अन्य संघ-संस्थाहरुले पनि यसको प्रबर्धनमा सहयोग पुर्याउन जरुरी छ । यस्तैमा वाफ महिला च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली राष्ट्रिय महिला फुटबल टिमलाई एनआइसी एसिया बैंकले सम्मान गरेको छ । एनआइसी एसियाले ललितपुरमा एक कार्यक्रममाझ नेपाली टिमलाई सम्मान गरेर निक्कै उदाहरणीय र प्रशंसनिय कार्य गरेको छ ।
सम्मान कार्यक्रममा एनआइसी एसियाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रोशनकुमार न्यौपाने, डेपुटी सन्तोषकुमार राठी, अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ, सिइओ इन्द्रमान तुलाधर, पुरुष फुटबल टिमका पूर्वकप्तान अनिल गुरुङसँगै अन्य एन्फा पदाधिकारीहरूको उपस्थिति थियो ।
बैंकले फुटबल टिमका २३ खेलाडीसँगै टिमका मुख्य प्रशिक्षक, सहायक प्रशिक्षक, गोलकिपर प्रशिक्षक, फिजियोलगायत टिम स्टाफलाई जनही २५ हजार रुपैयाँसहित सम्मान गरेको हो ।
गत फागुनमा साउदी अरेबियामा सम्पन्न प्रतियोगितामा नेपाली टिम उपविजेता बनेको थियो । पहिलोपटक सहभागिता जनाएको नेपालले फाइनलसम्मको यात्रा तय गरे पनि उपाधि भिडन्तमा भने जोर्डनसँग पेनाल्टी सुटआउटमा ५-३ ले निराश भएको थियो ।
कार्यक्रममा एनआइसी बैंक र एन्फाबीच फुटबलमा सहयोग गर्ने सम्झौतासमेत भएको छ । सम्झौतामा बैंकका सिइओ न्यौपाने र एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङले हस्ताक्षर गर्नुभयो । कार्यक्रममा एन्फा अध्यक्ष नेम्वाङले खेलाडीलाई प्रोत्साहन गरेकोमा बैंकलाई धन्यवाद दिँदै राज्यको लगानी राम्रो भए महिला फुटबलले छिट्टै फड्को मार्ने बताउनुभयो ।
यस्तै, बैंकका डेपुटी सिइओ सन्तोषकुमार राठीले उत्कृष्ट खेल प्रदर्शन गरेकोमा महिला टोलीलाई धन्यवाद दिनुभयो । उहाँले एनआइसी एसिया बैंकले खेलाडीहरूको हौसला उच्च राख्न आगामी दिनमा पनि सम्मान कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो ।




