काठमाडौँ । गुरु गोरखनाथ उत्पत्ति दिवसका अवसरमा हिजो पशुपतिनाथलगायत देशभरका गोरखनाथ मन्दिरमा पूजा आराधनासहित रोट अर्पण गरियो । वैशाख शुक्ल पूर्णिमाका दिन गुरु गोरखनाथको उत्पत्ति भएकाले विश्वासमा देशभरका गोरखनाथ मन्दिरमा पूजा, आराधना गरी मनाइँयो ।
यसअवसरमा हिजो पशुपति क्षेत्रको मृगस्थलीस्थित गुरु गोरखनाथ मन्दिरमा यससम्बन्धी कार्यक्रम आयोजना गरिएको थियो । मन्दिरमा गुरु गोरखनाथको पूजा, आराधनासहित रोट अर्पण पनि गरियो।
रोट गुरु गोरखनाथको प्रिय वस्तु भएकाले उनको उत्पत्ति दिवसका अवसरमा पूजा आराधनासहित रोट अर्पण गर्ने गरिन्छ । प्रत्येक वर्षको गोरक्ष पूर्णिमा वा वैशाख शुक्ल पूर्णिमाका दिनमा भने गोरखनाथको उत्पत्ति दिवस भएकाले सवालाख रोट अर्पण गरिन्छ । सवा सङ्ख्या गुरु गोरखनाथलाई मनपर्ने हुनाले नै सवालाख रोट चढाइन्छ। रोट महाप्रसाद हो । ३२ थरी मसला र जडीबुटी मिसाएर बनाइने हुनाले पनि रोटको विशेष महत्व हुन्छ । काजु, किसमिस, छोकडा, नरिवल, ल्वाङ्, सुकुमेल आदि फलादि गुणले युक्त रोट शरीरका लागि स्वास्थ्यवर्द्धक पनि मानिन्छ। यी वस्तुलाई विभिन्न आयुर्वेदिक खुराकमा पनि मिसाइएको पाइन्छ। जडीबुटीलगायतको मिश्रणबाट शुद्ध घ्यू मा तयार हुने रोटको सेवन गरेर नै यसको महत्व बुझ्न सकिन्छ।
गुरु गोरखनाथको पहिलो प्रकटस्थलको सौभाग्य पाएकाले नै नेपाल अक्षुण्ण र स्वतन्त्र रहेको विश्वास गरिन्छ ।
नेपालका शक्तिशाली छिमेकी राष्ट्र पराधीन हुँदासमेत नेपाल सदा नै स्वाधीन रहनुको आध्यात्मिक कारण यही रहेको विश्वास गरिन्छ।
नेपालको इतिहासका विषयमा खोज अनुसन्धानमा लागेका साहित्यकार एवं लेखक हरिप्रसाद सोडारी गुरु गोरखनाथकै आशीर्वादले द्रव्य शाहले गोरखा राज्य एकीकरण गरेको, राम शाहलाई आशीर्वाद दिएर ‘न्याय नपाए गोरखा जानु’ भन्ने उक्ति चरितार्थ गरेको र पृथ्वीनारायण शाहलाई आशीर्वाद दिएर नेपालको एकीकरण भएको विषय उल्लेखनीय रहेको बताउँछन्।
महायोगी गुरु गोरखनाथ समयको कालखण्डभन्दा माथि, नाथहरूका महानाथ, देश, काल, स्थानभन्दा धेरै माथिका अद्वितीय महापुरूषका पुजिन्छन् ।
श्री गुरु गोरक्ष अनादि, अजर अमर मानिनन्छन् । गुरु गोरखनाथले ब्रह्माजीलाई समेत सृष्टि गर्न सघाएको धार्मिक विश्वास छ ।
गुरु गोरखनाथ सृष्टिभन्दा पनि पहिले विराजमान थिए भन्ने मान्यता छ । हालसम्म पनि नेपालको मुद्रामा गुरु गोरखनाथको नाम तथा पादुका अङ्कित भएको पाइन्छ ।
नेपालीका गर्वका प्रतिमूर्ति महायोगी गुरु गोरखनाथकै कृपा आशीर्वादले नेपाली सेनाले बन्दुक र गोलाबारीका बाबजुद जय गोरख शब्दसँगै शत्रुलाई खुकुरीले परास्त गर्न सक्षम भए ।
महायोगी गुरु गोरखनाथ शिव नै हुनुभएकाले शिव गोरक्षका रूपमा आदरका साथ श्रद्धा भक्ति र विश्वासको केन्द्र मानी पूजा आराधना गरिन्छ । गोरखनाथ चारै युगमा सशरीर रहेको मानिन्छ ।
जय गोरख‚ जय गुरुदेव‚ अलख निरञ्जन जस्ता शब्दले गुरु गोरखनाथलाई पुकारिन्छ ।
यो परम्परा अहिले पनि गोरखा, लमजुङ, तनहुँ, कास्कीलगायत जिल्लामा प्रचलनमा रहेको छ। गोरखनाथ सम्प्रदायका योगीले पहिलेदेखि नै कात्तिक र चैतमा गरी वर्षमा दुईपटक फेरि लगाउने परम्परा अहिले पनि छ।
जसअनुसार एकपटक फेरी लगाएको सिदा र दक्षिणा राज्यलाई दिने गरिन्थ्यो। पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्दा यो सिदा र दक्षिणाले पनि भरथेग गरेको इतिहासमा उल्लेख गरिएको उनले सुनाए।
यस अवसरमा हिजो काठमाडौँ महानगरपालिका वडा नं ११ थापाथलीस्थित गुरु गोरखनाथ मन्दिर क्षेत्रमा पनि पूजा आराधनाका साथै रोट अर्पण गरिएको थियो । काठमाडौँ महानगरपालिका वडा नं ५ हाँडीगाउँस्थित गोरखनाथ पीठमा पनि पूजा, आराधनासहित रोट अर्पण गरिएको थियो ।




