काठमाण्डाै । छोटो समयामा सुचना तथा संचारमा आएको आमुल परिवर्तनले आम नेपालीको जीवन शैलि बदलिएको छ । बिसं १९७८ को तथ्यांक अनुसार झण्डै ६४ प्रतिशत नेपालीहरुले फोनको प्रयोग गरेको देखिन्छ । देशमा मोवाईल फोनको प्रयोगसंगै मोवाईल सेट भित्रिने क्रम स्वत: बढ्ने नै भयो । चालू आर्थिक वर्ष २०८०/८१ को १० महिनामा नेपालमा २४ अर्ब रुपैयाँभन्दा धेरै मूल्यका मोबाइल फोन आयात भएका छन् ।
भन्सार विभागका अनुसार गएको साउनदेखि वैशाखसम्म २४ अर्ब रुपैयाँ बराबरका १५ लाख २८ हजार थान मोबाइल फोनको आयात भएका छन् । यो पोहोरको १० महिनाको तुलनामा चार अर्ब रुपैयाँभन्दा धेरै हो । गएको वर्षको साउनदेखि वैशाखसम्म २० अर्ब ४१ करोड रुपैयाँ मूल्यका १३ लाख थान मोबाइल आयात भएका थिए ।
सबैभन्दा धेरै चीनबाट १५ अर्ब ८० करोड रुपैयाँ मूल्यका १० लाख ९५ हजार थान मोबाइल आयात भएका छन् । यस्तै भारतबाट १० महिनामा सात अर्ब ८१ करोड रुपैयाँका मोबाइल फोन आयात भएका भन्सार विभागले जनाएको छ ।
अहिले गाउँ–गाउँमा पनि स्मार्टफोनको प्रयोग बढ्न थालेसँगै आयात पनि बढिरहेको हो । यस्तै सरकारले विदेशबाट फर्कनेहरूले ल्याउने एउटाभन्दा धेरै मोबाइल फोनमा पनि भन्सार लगाउने निर्णय कार्यान्वयन गर्दा पनि मोबाइल फोनको आयात धेरै देखिएको व्यवसायीहरूले बताएका छन् ।




