काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा देवेन्द्र रमण खनाल नियुक्त हुनु भएको छ । तत्कालीन सिइओ किरण कुमार श्रेष्ठको दुई कार्यकाल सकेर बिदा भएपछि बैंकको सीईओ पद रिक्त थियो ।
यसअघि रिक्त रहेको बैंकको प्रमुख कार्यकारी अधिकृतको पदमा खुला प्रतिस्पर्धाबाट छनोट गरी नियुक्त गर्नका लागि बैंकले गत वैशाख ७ गते दरखास्त आवेदन माग गरेको थियो ।जसमा सिईयोका लागी १९ जनाले आवेदन दिईएका थिए ।
बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले खनाललाई ४ वर्षका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको बैंकले जनाएको छ ।राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले आज पदभार ग्रहण गर्नुभएको छ । यसअघि प्रमुख कार्यकारी अधिकृत खनालले बैंक सञ्चालक समितिका अध्यक्ष दिलीपकुमार ढुङ्गानाबाट पद तथा गोपनीयताको शपथ लिनुभएको थियो । यसअघी उहां बैंककै डेपुटी सीईओ हुनुहुन्थ्यो । विसं २०६४ मा चार्टर्ड एकाउन्टेन्टको रुपमा प्रवेश गर्नुभएका खनालले व्यवस्थापनमा स्नातकोत्तर तथा कानुनमा एलएलबी तहको अध्ययन पूरा गर्नुभएको छ ।
बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा २९ को उपदफा (२) तथा बैंकको नियमावलीको नियम ३५ को उपनियम (३) को व्यवस्थाबमोजिम खनाललाई बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा चार वर्षका लागि नियुक्ति गरेको थियो ।
पदभार ग्रहणका अवसरमा नवनियुक्त प्रमुख कार्यकारी अधिकृत खनालले सरकार, राष्ट्र बैंक तथा बैंकले लिएको नीतिको कार्यान्वयन गरी नागरिकमा गुणस्तरीय सेवा प्रवाह गर्दै सबै सरोकारवालाले पाउने हिस्सामा वृद्धि हुने गरी कार्य गरिने जानकारी दिनुभयो ।




